काठमाडौँ। नोबेल मेडिकल कलेजको सबै शेयर अन्य शेयरधनीबाट आफ्नो नाममा सार्न कागजात तयार गरेका राजेन्द्र न्यौपाने उर्फ सुनिल शर्माले आफ्नो प्रतिकूल भएको भन्दै लगानीकर्तालाई हदैसम्मको हैरानी र दुःख दिए । अपहरण र किर्तेमा प्रहरीमा उजुुरी गरेकोमा नोबेलका लगानीकर्ताप्रति सुनिल यतिधेरै क्रुद्ध भए कि उनीहरुको कार्यालय र घरमा बम पड्काएर त्रासमा राखे। उनको हर्कतले अस्पतालमा असुरक्षा बढेसँगै विरामी आउन छाडे भने चिकित्सकले तलब नपाएर कलेज छाड्न थाले।
२०६४मा माओबादीको आडमा सुनिलले नोबेल मेडिकल कलेजको शेयर कसैलाई बेच्न पनि दिएनन्। आफूलाई कलेज संचालनको जिम्मा दिए सेटिङ मिलाउन सक्ने दाबी गर्दै यस्तो सर्त माने मात्र हत्याएको शेयर फिर्ता दिन्छु भन्न थाले।
‘मर्नुभन्दा बहुलाउनु’ तुलनात्मक उत्तम विकल्प सम्झिएर नोबेलका सबै संचालकहरु सुनिल शर्मालाई कलेज संचालनको अघोषित तर मौन अनुमति (स्वीकृति) दिन बाध्य हुन्छन्।
नोबेल मेडिकल कलेज संचालन गरेर नाफामा पुर्याउँछु भन्ने सुनिलले फेरि अर्को षडयन्त्र र तिकडमका जाल फिजाए डा.ज्ञानेन्द्रबहादुर कार्की माथी । विराट नरसिंह होमका संचालक कार्कीलाई सुनिलले कलेज संचालनमा सहयोग र साथ दिएवापत डा.कार्कीलाई ५० प्रतिशत नोबेलको शेयर दिन्छन्।
क्लिनिक हुँदै नर्सिङ होम सफलतापूर्वक चलाएका बिराटनगरका चर्चित डा.कार्कीले नोबेललाई गज्जबले संचालन गरेर देखाए। डा.कार्कीलाई नोबेलका पुराना संचालक देखाएर र पुराना संचालकलाई डा.कार्की देखाएर सबै जग्गा आफ्नै आमाको नाममा नामसारी गराउन सुनील सफल हुन्छन्।
२०६५ मा माओबादीले सबैभन्दा ठूलो दलको हैसियतले मधेशवादी दलहरुलाई लिएर सरकार बनाउँछ। त्यसपछि सुनिलले आफूलाई सुरक्षीत र शक्तिशाली ठान्न थाले अनि शुरु हुन्छ, डा.ज्ञानेन्द्र कार्की र सुनिल शर्माबीचको लफडा ।
नोबेलका संचालक गिरी, पाण्डे, दाहाल र खनाललाई काभ्रेको कामीडाँडामा लगेर ‘धोबी चुटाई’ गरेर आफ्नो लक्ष्य हासिल गर्न सकिन्छ भन्ने मनसाय बोकेका सुनिलले अब बिराटनगरकै स्थापित र चर्चित डाक्टर ज्ञानेन्द्र बहादुर कार्कीलाई पनि धम्क्याउन र तर्साउन कुनै कसर वाँकी राखेनन्।
शर्माको संकेतमा उनीद्वारा संचालित गिरोहले २०६६ मा डा.कार्कीको घरमा सुतली बम विष्फोट गरायो। मानसम्मान र आनन्दले चिकित्सा पेशामा रमाएका कार्कीलाई परिवारका सदस्य र आफन्तले सुनिलसँग चुनौति नमोल्न दबाब दिए।
बम विष्फोटबाट असुरक्षित भएका डा.कार्कीले आफ्नो नाममा रहेको नोबेल मेडिकल कलेजको ५० प्रतिशत शेयर सबै फिर्ता दिए। कार्की शेयर फिर्ता दिन बाध्य भएसँगै अब सुनिल शर्मा एकाएक नोबेलको एक मात्र संचालन बन्न सफल भए।
कलेजको जग्गा आमाको नाममा र कलेज आफ्नो नाममा पारेपछि कलेजमा एकछत्र राज गर्न सुनिलले भर्खरै अमेरिकामा जागिर खान थालेका आफ्ना दाई केपी शर्मालाई नेपाल बोलाएर कलेजको निर्देशक बनाए। सुनिलको एकल निर्णयले पूर्वाञ्चल विश्वविद्यालयका पूर्वरजिष्ट्रार भोगेन्द्र आचार्य र नारायणकुमार शर्मालाई कलेजमा भित्र्याए।
शर्माले नोबेल आफ्नो स्वामित्वमा लिन जबर्जस्त गरिएका कुकृत्य र कर्तुत अनि तिकडम र छलछामविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पति शुद्धिकरण विभागमा मुद्धा पर्छ।
यो सबै कसुरबाट उम्किन शर्मा (राजेन्द्र न्यौपाने)ले नयाँ जुक्ति निकाल्छन्। बेलबारी गाउँमा बसेका आफ्ना बुवा त्रिलोक न्यौपानेलाई अस्पतालको अध्यक्ष बनाए। केही समयपछि आफै अस्पतालको अध्यक्ष भए।
अख्तियार र सम्पति शुद्धिकरणमा परेका मुद्धा मामिला सल्टाउन सुनिलले माओबादी पोलिटव्युरो सदस्य वर्षामान पुनलाई प्रयोग गर्छन् । पुनः अर्थमन्त्री हुँदा सम्पति शुद्धिकरण विभागले अनुसन्धान गरेर दायर गर्न आँटेको मुद्धा पनि ढिसमिस भएको थियो।
२०६६ र ६७ सम्म आईपुग्दा माओबादीसँग नजिकको राजनीतिक, व्यक्तिगत र व्यवसायिक सम्वन्ध बनाएका सुनिलको सम्वन्ध अब मोरङको बिराटनगरस्थित नोबेल मेडिकल कलेज संचालन गर्न कांग्रेससँग पनि विस्तार हुन्छ।
हालका प्रदेश सभा सदस्य केदार कार्कीमार्फत सुनिलको सम्वन्ध कोइराला परिवारका सदस्य बरिष्ठ नेता डा. शेखर कोइरालासम्म हुन्छ। तथापी उनको सम्वन्धको डोरो राजाबादी लोकमानसिंह कार्कीबाट टाढिँदै जान्छ। माओबादीका अन्य नेतासँग शर्मा सम्वन्ध पातलिन्छ भने कांग्रेसका नेतासँग बाक्लो हुन्छ।
२०७० को निर्वाचनमा उनले राजनीतिक उपयोग वा प्रयोग समेत गर्छन। त्यो हो, रोल्पाको मगरको छोरा, माओबादीको नेता बर्षमान पुनलाई मोरङको क्षेत्र नम्वर एकबाट चुनाव जित्न सक्ने सपना वाँड्छन्। सुनिलले वाँडेको सपनामा वर्षमान फस्छन्। उनको जमानत समेत जफत हुन्छ। योसँगै बर्षामानको कोशी प्रदेश अर्थात विराटनगरको सम्वन्ध अब टाढिन बाध्य हुन्छ।
नोबेल मेडिकल कलेजमा एकलौटी गरेका शर्माले अब आफूलाई डा.सुनिल शर्मा भनेर सर्बत्र चिनाउन थाले । डा.शेखर कोइरालाको छत्रछायाँ र रोहमा रहेका शर्मा २०७० को निर्वाचनमा एकाएक डा.शेखर कोइरालाको पक्षमा प्रचार अभियानमा जुट्छन्।
कांग्रेस भएको एक दशक नपुदै शर्मा २०७२ सालदेखि बीपीको प्रजातान्त्रिक समाजबादको व्याख्याता र राजनीतिक दर्शनको प्रबचन दिने भईसकेको थिए। कोइराला परिवारको विरासतको लिगेसीलाई आफूले बोक्ने गरेको दाबी गर्ने शर्मा कोइरालाको प्यारो बन्न तत्कालिन सभापति शेरबहादुर देउवाको कट्टरविरोधी भएर निस्कन्छन्।
छुटाउनु भयो कि?
सुनिल शर्माको उदय: दलालदेखि ‘डन’सम्म, अपहरण र विस्फोटमार्फत नोबेल मेडिकल कलेज कब्जा


















प्रतिक्रिया