काठमाडौं । ‘नयाँ जोगीले धेरै खरानी धस्छ’ भने झैं अहिले नेपालको राजनीति र स्वास्थ्य क्षेत्रमा अधिक चर्चित व्यक्ति हुन् ‘डा. सुनिल शर्मा।’
नेपालको स्वास्थ्य शिक्षा र राजनीति, त्यसमा पनि नेपाली कांग्रेस भित्र निकै भलाद्मी र सादगी व्यक्तित्वको पर्याय बन्न खोज्ने शर्मा जति साखुल्ले पल्टन्छन्, त्यति नै उनी खतरनाक र तिलस्मी व्यक्ति हुन्।
डा.शर्माको असली चरित्र, जीवनशैली र पृष्ठभूमि थाहा नपाउनेहरुलाई अचम्म लाग्न सक्छ – ‘हैट …डा.सुनिल पनि त्यस्ता हुन र ?’ तर अचम्म मानीरहनु पर्दैन कि – उनका कुनै पनि कार्य, व्यापार, व्यवसाय वा प्रस्तुति पारदर्शी नभएर तिलस्मी, चामत्कारिक, अनेकौँ तिकडम र छलछामपूर्ण छ । उनका यस्ता चरित्रको बारेका एकादुईले थाहा पाएका होइनन्, सयौँ वा हजारौं छन्, तर पनि उनको असली चरित्र र असली सुनिल सफेद नभएर छद्म हुन भन्ने आँट धेरैजसोले गर्नै सक्दैनन्।
सुनिल शर्माको पृष्ठभूमि वा खास सुनिलको यथार्थ भनेर वा ओकलेर नेपालका कसैले पनि जीउ ज्यानको चुनौति मोल्ने झन्जट गर्दैनन्। डा.सुनिलको सम्वन्ध र उनको विगतको खतरनाक कर्म देखेर, सुनेर र भोगेर आएकाहरु सर्बसाधरण नभएर प्रख्यात, चर्चित र समाजका स्थापित व्यक्तित्वहरु समेत सुनिलदेखि थरर… हुने गर्छन। नहुन पनि कसरी उनको ‘नेक्सस्’ नेपालदेखि भारत, चीन, भुटान र बंगलादेशसम्मका ठूला र शक्तिशाली व्यक्तिहरुसँग छ।
उनी नेपालको सन्दर्भमा समेत जो सत्ता र शक्तिमा आउँछ उनकै सबैभन्दा ‘प्यारा र भक्त’ हुने गरेका छन्।
राजेन्द्र यसरी भए डा.सुनिल
आजभन्दा पाँच दशकअघि उत्तरी मोरङ जिल्लाको लेटाङमा जन्मिएका हुन् –राजेन्द्र न्यौपाने। केही समय लेटाङमै रहेका राजेन्द्रको परिवार मोरङको साविकको बेलबारी गाउँपञ्चायत वडा नम्वर ९ काकुममा बसाईं सरेको हो। ७–८ कक्षासम्म साविकको बेलबारी गाउँपञ्चायत वडा नम्वर ८को बुधबारेमा अध्यय नगरेका उनले त्यसभन्दा बढी अध्ययन गरेको जानकारी नभएको स्थानीय बताउँछन्।
उनले कक्षा ९ र १० बेलबारी, सुकुना, लक्ष्मीमार्ग, डाँगीहाट वा बलुवाही कहीँ पढेको रेकडै ती विद्यालयहरुमा भेटिदैन। २०४७ सालमा प्रजातन्त्र पुनर्स्थापनासँगै राजेन्द्र न्यौपानेको जीवनमा पनि एक्कसी परिवर्तन आएको थियो।
२०४८को संसदीय निर्वाचनमा तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा)का नेता तथा बुद्ध एयरका संस्थापक सुरेन्द्रबहादुर बस्नेतको पक्षमा राजेन्द्रले बेलबारी र त्यसमा पनि काकुमको मोर्चा सम्हालेका थिए। उनी काकुमकै सेकेण्डबहादुर बस्नेतका भक्त भएका कारण राप्रपाको पक्षमा लाग्नु स्वभाविकै थियो।
‘चुनावको अघि र पछि गाउँबाट हराएका राजेन्द्र ‘शारदा टाकिज’ बेलबारीमा सिनेमाको टिकेट ‘व्ल्याक’मा बेच्ने धन्दामा लागेका थिए। ‘ग्याङ फाईट’ त्यसमा पनि बेलबारीको सोमबारे हटियामा राजेन्द्रको नाम नसुनिएको दिन हुँदैनत्यो’, बेलबारी काकुमका उनका एक छिमेकी सहपापठी बताउँछन्।
एक –दुई वर्षपछि बेलबारी फर्किएका राजेन्द्रले बेत्तौनामा गाई बाख्रा जंगलमा चराउन गएका साथिहरुलाई आफूले पनि एसएलसी (स्कुल लेभर सर्टिफिकेट) उतिर्णं गरेको प्रमाण पत्र देखाएका थिए। उनले त्यसबेला गोठाले साथिहरुलाई भन्थे –‘धेरै फूर्ती नगर केटा हो लक्ष्मीमार्ग र बेलबारीमा पढें भनेर, यी …(प्रमाण पत्र देखाउँदै) मसँग पनि छ, एसएलसीको प्रमाण पत्र।
उनी बेलबारीबाट हराएको एक –डेढ वर्षसम्म पश्चिमको धनगढीमा व्यापार विजनेस गर्ने गरेको दाबी गर्दथे । तर, उनको देखाएको शैक्षिक योग्यताको प्रमाण पत्र भने कैलाली नभएर कालिकोटको थियो।
२०५३ देखि बेलबारीका राजेन्द्र शसस्त्र द्वन्द्वको नेतृत्व गरिरहेको तत्कालिन नेकपा माओबादीसँग आवद्ध भए । उनी माओवादीले गरेको द्वन्द्वको समयमा झापा, मोरङ वा सुनसरीमा नभएर पश्चिम नेपालमा खटिएको माओवादीमै लागेकाहरु बताउँछन्।
माओवादी आन्दोलन उत्कर्षमा पुगेको बेला राजेन्द्र न्यौपाने एका–एक ‘सुनिल शर्मा’ भएर उदाए।
माओबादी आन्दोलनको समयमा नेपालबाट चीनमा अध्ययन गर्ने विद्यार्थीहरुको ‘भिषा व्यवस्थापन’मा सक्रिय राजेन्द्रको पहिचान विस्तारै विस्तारै सुनिल शर्माको नामले चिनिन थाले।
नोबेल मेडिकलमा सुनिलको प्रबेस
२०५५ मा काठमाडौं नोबेल इन्ष्टिच्युट संचालन गर्दै आएका नवराज पाण्डे लगायतले नाबेल एकेडेमी संचालन गर्न थालेका थिए। नोबेलका संचालकहरु नवराज पाण्डे, रविन दाहाल, उमेश पाण्डे र आदित्य खनालहरुले शिक्षा क्षेत्रमा प्राप्त गरेको आर्थिक शैक्षिक सफलतापछि मेडिकल कलेज खोल्ने योजना बनाउन थाले।
उनीहरुको यो सपना पुरा गर्न भेटिए बिराटनगरका डा.ज्ञानेन्द गिरी। नाबेल समूहले गिरीसँग मेडिकल कलेज संचालनको लागि सहयोगको हात फैल्याउँछन्।
नोबेल कलेजका संचालकहरुसँगको सल्लाह बमोजिम डा. ज्ञानेन्द्र गिरीसहितले २०५७ सालमा बिराटनगरको कञ्चनबारी (एयरपोर्टको उत्तरपूर्व)मा १५ विघा ९ कट्ठा जग्गा प्रति विगाह १२ लाख रुपैयाँको दरले खरिद गर्छन।
त्यो जग्गा थियो, नेपाली कांग्रेस मोरङका नेता चुमनारायण तबदारको। मेडिकल कलेज संचालन गर्न २०६० सालमा पाण्डे र डा.गिरीे समूहको फाईल तत्कालिन शाही साशनका शिक्षा मन्त्री हरिबहादुर बस्नेतले रोकिदिन्छन्।
सूर्यबहादुर थापाको राजनीतिक समूहमा रहेका मन्त्री मन्त्रीलाई मनाउन विराटनगरका राप्रपा नेता रामकृष्ण भट्टराईसँग सहयोग मागिन्छ। शेयर पाईने भएपछि भट्टराईले कलेज संचलन गर्न खोज्नेहरुलाई सहयोग गरे। तत्कालिन स्वास्थ्य सचिव थिए –विराटनगरकै लोकमानसिंह कार्की।
लोकमानसिंहले पनि आफ्नो विराटनगरस्थित पोखरियाको पुरानो घर मासिक एक लाख रुपैयाँ पाउने सर्तमा भाडामा दिए। अनि कलेज संचालनको लागि शिक्षाबाट स्वास्थ्यमा रोकिएको अड्किएको फाईल फुकुवा भयो।
विद्यार्थीलाई मेडिकल शिक्षा दिने भनी भर्ना गरियो। तर भर्ना भएका विद्यार्थीलाई पूर्वसहमति वमोजिम कोशी अञ्चल अस्पताल विराटनगरले लिन मानेनन्।
सम्झौता भङ्ग भएपछि त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन लिन डा. सुनिल शर्मा नामका व्यक्ति विचौलियाको रुपमा देखा परे। कोइराला परिवारका सदस्यहरुसँग आफ्नो निकटता रहेको भन्दै सुनिलले शेयर पाउने सर्तमा काम फत्ते गर्ने अनौपचारिक तर घोषित जिम्मेवारी लिए ।
त्यहीँबाट शुरु भयो, सुनिलको छलछाम, तिकडम र तिलस्मि क्रियाकलाप- अनि सुरु भए लगानी गर्नेहरुका दुर्दिन। त्यसपछि सुनीलले उनीहरुको सबै सम्पति कौडीको भाउ समेत नपाएर हस्तान्तरण गर्न बाध्य बनाएका थिए।




















प्रतिक्रिया