Logo

प्रमुख समाचार

रामेछापमा बस दुर्घटना पीडितहरुको आन्दोलन स्थगित, क्षतिपूर्ति दिने र सार्वजनिक यातायातको प्रभावकारी अनुगमन गर्ने सहमति



काठमाडौं । रामेछापको मन्थली नगरपालिका–६ मसानेटारमा मंगलबार भएको बस दुर्घटनापछि आन्दोलनरत मृतकका आफन्त तथा घाइतेका परिवारले आन्दोलन स्थगित गरेका छन् ।

बस दुर्घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिने र सार्वजनिक यातायातमा प्रभावकारी अनुगमन गर्ने सहमतिपछि यातायात सेवा संचालन भएको छ ।

बुधबार अबेरसम्म स्थानीय प्रशासन, अरनिको यातायातका प्रतिनिधि र पीडित परिवारबीच भएको वार्तामा मृतकका परिवारलाई कानुन बमोजिम पाउने क्ष‍तिपूर्ति अरनिको यातायातले तत्काल व्यवस्थापन गर्ने र दुर्घटनापछि बेत्तपा भएका यात्रुका परिवारलाई पनि मृतक सरह मानेर क्षतिपूर्ति दिने उल्लेख छ ।

सहमति अनुसार सवारी दुर्घटनामा परी मृत्यु भएका मृतकका परिवारलाई प्रचलित कानुन बमोजिम पाउनुपर्ने क्षतिपूर्ति तत्काल नेपाल अरनिको यातायात सेवा प्रा.लि. ले व्यवस्था गर्ने, दुर्घटनामा परी मृत्यु भएका मृतकका परिवारहरुलाई कानून बमोजिम दिइने क्षतिपूर्तिको व्यवस्था तत्काल गर्ने र थप क्षतिपूर्तिका सम्बन्धमा जिल्ला सुरक्षा समितिको सहजीकरणमा पीडित पक्षलगायत सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरुसहित नेपाल अरनिको यातायात सेवा प्रा.लि.सँग वार्ता हुनेछ ।

रामेछापमा संचालन हुने यातायातका साधनको प्रभावकारी अनुमगन गर्ने, चालकको मदिरा र नसालु पदार्थ सेवन गरे नगरेको नियमित चेकजाँच गर्ने र सडकको अवस्था सम्वन्धित निकायले सुधार गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।

रामेछापको मन्थली नगरापलिका वडा नं-६ त्रिवेणी पुल नजिक मंगलवार भएको बस दुर्घट्नामा परी तीन जना अझै बेपत्ता रहेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं–२ पिप्ले का ९ बर्षिय क्रिचन तामाङ, लिखु तामाकोसी गाँउ पालिका वडा नं –७ तिल्पुङ का बर्ष ८ का रोनिश तामाङ र उमाकुण्ड गाँउपालिका वडा नं –६ गुप्तेश्वरका वर्ष २४ का बिशाल सुनुवार बेपत्ता छन् ।

मंगलबार काठमाण्डौ बाट ओखलढुंगाका लागि छुटेको बा प्र ००१- ०५ख ९९७५ नं को अरनिको यातायात सेवा प्रालिको बस मन्थली– ६ स्थित त्रिबेणी पुल नजिकको सडकबाट करिब १०० मिटर तल तामाकोशी नदीमा खस्दा १२ जनाको घटनास्थलै मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार ११:१५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।