म्याग्दी । म्याग्दीको सिमानामा रहेको बागलुङको ताराखोला गाउँपालिका–४ मा रहेको नेपाल माविले स्थापना गरेको अक्षयकोषमा रु एक करोड सङ्कलन भएको छ ।
गत माघ २५ देखि यही फागुन १ गतेसम्म विविध कार्यक्रमसहित मनाइएको ५७औँ स्थापना दिवस कार्यक्रममा प्राप्त भएको रु ३७ लाखसहित उक्त रकम सङ्कलन भएको हो ।
प्राविधिकतर्फ पशुविज्ञान विषयमा दश जोड दुई तहको पठनपाठन सञ्चालन गरेको विद्यालयको शैक्षिक र भौतिक विकासमा परिचालन गर्ने उद्देश्यले स्थापना गरिएको अक्षयकोषमा हालसम्म रु एक करोड दुई लाख सङ्कलन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम खत्रीले बताए ।
“दाताहरूले आफ्ना दिवङ्गत अभिभावक र दिवङ्गत भएका पूर्वविद्यार्थीहरूको स्मृतिमा उनीहरूका अभिभावकले अक्षयकोषमा सहयोग गर्नुभएको छ”, उनले भने, “विदेशमा रहेका ताराखोलावासीहरू आबद्ध सङ्घसंस्था र व्यवसायीहरूले व्यक्तिगत रूपमा पनि सहयोग गर्नुभएको छ ।”
विद्यालयको आन्तरिक स्रोतको कोषमा रहेको रु ६५ लाखबाट सुरु गरिएको अक्षयकोषमा ५६औँ वार्षिकोत्सवका अवसरमा गत वर्ष रु १५ लाख सहयोग प्राप्त भएको थियो ।
अक्षयकोषलाई वृद्धि गरेर रु दुई करोड बनाउने र सोको ब्याजबाट विद्यालयले पठनपाठनमा गरेको नमूना अभ्यासलाई निरन्तरता दिन परिचालन गरिने अध्यक्ष खत्रीले जानकारी दिए ।
चार सय ११ जना विद्यार्थी अध्ययनरत विद्यालयका विद्यार्थीको साधारणतर्फ सरदर सिकाइ उपलब्धि ५५.९५ र प्राविधिक धारतर्फका विद्यार्थीको सिकाइ उपलब्धि ६५.१५ प्रतिशत रहेको प्रअ प्रकाश रोकाले जानकारी दिए ।
सङ्घीय सरकारको नमूना विद्यालय कार्यक्रममार्फत ३४ कोठा क्षमताको पाँचवटा भवन निर्माण सकिएको र एक भवन निर्माणाधीन छ । एघारकोठे एक छात्रावास, १३ कोठे शौचालय, कम्युटर, विज्ञान प्रयोगशाला र पशु विज्ञान प्रयोगशाला स्थापना भएको छ ।
कक्षा ८ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने गरिएको छ । कोरियाको संस्थाको सहयोगमा सूचना प्रविधियुुक्त अत्याधुनिक मल्टिमिडिया र प्रविधियुक्त कम्युटर विषयको पठनपाठन हुुने कक्षा कोठा पनि रहेको छ ।
ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले नेपाल माविलाई आवासीय विद्यालयका रूपमा सञ्चालन गर्ने, स्कुल बसको सुविधा थप गर्ने र क्याम्पससमेत स्थापना गर्ने योजना रहेको बताए ।




















प्रतिक्रिया