Logo

अर्थ

राष्ट्र बैंकको कारबाही: ग्लोबल आइएमई बैंकका सीईओलाई चेतावनी, निर्देशन अवज्ञाको आरोप



काठमाडौं । नेपाल राष्ट्र बैंकले आ.व. २०८२/८३ को दोस्रो त्रैमासमा गरेको नियामकीय कारबाहीमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रत्यक्ष रुपमा तानिएका छन्।

केन्द्रीय बैंकले स्थलगत निरीक्षण प्रतिवेदन–२०८२ का आधारमा बैंकमा देखिएका गम्भीर नियामकीय कमजोरी औंल्याउँदै सीईओलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा (२) को खण्ड (क) बमोजिम चेतावनी दिएको हो।

राष्ट्र बैंक स्रोतका अनुसार बैंकले एकीकृत निर्देशिका, २०७९ को दफा ७/०९ बमोजिम कायम गर्नुपर्ने ‘एजिङ वाइज’ कर्जा नोक्सानी व्यवस्था पूर्णरूपमा पालना गरेको पाइएन। साथै, कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना सम्बन्धी प्रावधान कार्यान्वयनमा पनि कमजोरी देखिएको प्रतिवेदनमा उल्लेख छ। नियामकले स्पष्ट व्यवस्था हुँदाहुँदै पनि आवश्यक प्रावधान नअपनाइनु ‘गम्भीर लापरवाही’ को संकेत भएको ठहर गरेको छ।

कर्जा गुणस्तर, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी नहुँदा बैंकको वित्तीय पारदर्शिता र विश्वसनीयतामाथि प्रश्न उठ्ने जोखिम रहेको राष्ट्र बैंकको निष्कर्ष छ। स्रोतका अनुसार निरीक्षणका क्रममा केही कर्जामा आवश्यक प्रोभिजनिङ नगरी नाफा प्रस्तुतीकरणमा प्रभाव पार्ने सम्भावना देखिएको थियो।

केन्द्रीय बैंकले बैंक व्यवस्थापनलाई निर्देशनहरूको पूर्ण पालना गर्न, कर्जा नोक्सानी व्यवस्था यथाशीघ्र मिलान गर्न तथा पुनर्संरचित कर्जाको निगरानी कडा बनाउन स्पष्ट निर्देशन दिएको छ। नियामकको चेतावनीसँगै बैंकको उच्च व्यवस्थापनको कार्यशैलीमाथि समेत प्रश्न उठेको छ।

वाणिज्य बैंकिङ क्षेत्रमा अग्रणी दाबी गर्ने ग्लोबल आइएमई बैंकका लागि नियामकको यो कारबाहीले सुशासन, जोखिम नियन्त्रण र पारदर्शिताबारे गम्भीर सन्देश दिएको विश्लेषकहरू बताउँछन्। अब बैंकले निर्देशन कार्यान्वयनमा कति तत्परता देखाउँछ भन्ने विषयमा बजारको चासो केन्द्रित भएको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार १३:४९   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।