Logo

निर्वाचन

गौर कारागार कार्यालयमा २२ कर्मचारी र ६१ कैदीबन्दीले गरे मतदान



रौतहट । रौतहटको गौरस्थित कारागार कार्यालयमा प्रतिनिधि सभा निर्वाचनको मतदान कार्य सम्पन्न भएको छ । कारागारमा रहेका कैदीबन्दी र त्यहाँ खटिएका सुरक्षाकर्मी एवं कर्मचारीहरूले आज(विहीबार) मतदान गरेका हुन् ।

कारागार कार्यालय गौर, रौतहट अस्थायी मतदान केन्द्रका मतदान अधिकृत सावित्रा थापाका अनुसार, कारागारमा रहेका कूल २०८ कैदीबन्दीमध्ये ६३ जना मतदाता सूचीमा रहेका थिए ।

६३ जना पुरुष मतदातामध्ये दुईजना भर्खरै कैदमुक्त भई गएकाले बाँकी ६१ जना कैदी बन्दीले उत्साहपूर्वक मतदान गरेका छन् । कारागारमा हाल १९९ पुरुष र ९ महिला कैदी बन्दी रहेका भए पनि महिलातर्फ भने कोही पनि मतदाता थिएनन् ।

कैदी बन्दीका अतिरिक्त सोही मतदान केन्द्रबाट निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले पनि मतदान गरेका छन् ।

मतदान अधिकृत थापाका अनुसार, मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत र कार्यालय सहयोगी गरी ३ जना कर्मचारी तथा कारागारका कर्मचारी, नेपाल प्रहरी र नेपाली सेना गरी २२ जनाले मतदान गरेका छन् ।

निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मी गरी कुल ८६ जनाले यस केन्द्रबाट मतदान गरेको मतदान अधिकृत थापाले जानकारी दिए ।

मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भइसकेको भएपनि मतपेटिका सिल गर्ने कार्य भने निर्वाचन आयोगको कार्यतालिका अनुसार साँझ ५ बजेपछि मात्र गरिने बताइएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १५:४९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।