काठमाडौं । जहाजको पूर्ण क्षमता सञ्चालनपछि बुद्ध एयरले कल साइन ९ एन-एजेओ रहेको एटीआर-७२ जहाजलाई औपचारिक रुपमा बिदाइ गरेको छ ।
एटीआर–७२ जहाजको अधिकतम उडान क्षमता ७२ हजार साइकल हो । ‘साइकल’ भन्नाले जहाजको एक उडान र एक अवतरणलाई जनाउँछ । यो एटीआर–७२ जहाज २ जुलाई २०१० देखि व्यवसायिक उडानमा संलग्न थियो । यसको अन्तिम उडान ९ मार्च २०२६ मा भैरहवाबाट–काठमाडौंसम्म गरिएको थियो । १६ वर्षे उडान अवधिभर यस जहाजले २४ लाख ८२ हजार ७७२ जना यात्रु बोकेको थियो ।
बिदाइ क्षणमा भावुक हुँदै बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले भने– ‘यस जहाजले नेपालको हवाई यात्रालाई सुगम, कम खर्चिलो, वातावरणमैत्री बनाउन ठुलो योगदान दियो । यसले बुद्ध एयरको बजार बिस्तार तथा साख बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । हामीले एटीआर जहाजको पूर्ण आयु सञ्चालन गर्ने ऐतिहासिक कीर्तिमान पनि कायम गरेका छौँ ।’
नेपाल नागरिक उड्डयन प्राधिकरणका जनरल म्यानेजर टेकनाथ सिटौलाले बुद्ध एयरको हवाई सुरक्षाप्रतिको प्रतिबद्धता र उत्कृष्ट मर्मत–सम्भार तथा व्यवस्थापनका कारण आज एटीआर जहाजलाई सफलतापूर्वक बिदाइ गर्न सम्भव भएको बताए ।
एटीआर कम्पनीका सिनियर भाइस प्रेसिडेन्ट स्टेफानो माराज्जनीले बुद्ध एयरसँगको साझेदारीप्रति गहिरो खुशी व्यक्त गर्दै भने-‘एटीआर कम्पनीले डिजाइन र निर्माण गरेको यो विमानलाई योग्य हात एवम् सही वातावरण तथा उत्कृष्ट प्राविधिक प्रणालीको साथमा अन्तिम उडानसम्म सुरक्षित रुपमा सेवा दिन सक्षम भयो । यसले बुध्द एयरको उच्च सुरक्षा प्रतिबद्धता पुनः प्रमाणित गरेको छ ।’
यसअघि बुद्ध एयरले एटीआर–४२ जहाजलाई १० सेप्टेम्बर २०२४ मा पनि बिदाइ गरेको थियो ।





















प्रतिक्रिया