Logo

समाचार

सिराहाका छुट्टाछुट्टै स्थानबाट मानव बेचबिखन तथा ओसारपसार आरोपमा आठ जना पक्राउ



सिराहा । सिराहा प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ। जिल्लाका तीन छुट्टाछुट्टै घटनामा संलग्न उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको हो।

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डी एसपी रमेशबहादुर पालका अनुसार लहान नगरपालिका ८ का दिलीप साह र उनकी श्रीमती सुनितालाई तीन जना महिलालाई आर्थिक प्रलोभनमा पारी वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा पक्राउ गरिएको छ। उनीहरूलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

त्यसैगरी, लहान ३ अस्पताल चोकमा रहेको  अनलाइन होटल एन्ड लजका सञ्चालिका ४० वर्षीया अर्चनाकुमारी चौधरीले चार महिलालाई सप्तरीको सुरुङ्गा ९ टिकुलियाका २१ वर्षीय अशोककुमार चौधरी, २० वर्षीय नितिककुमार चौधरी र १९ वर्षीय आकाश चौधरीसँग मिलेर वेश्यावृत्ति गराएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस घटनामा संलग्न चारै जनालाई सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। प्रहरीले धनगढीमाई नगरपालिका ११ स्थित खुश्बु होटल एन्ड लजका सञ्चालक ३४ वर्षीय गुज्जेश्वर साहलाई दुई महिलालाई सप्तरीको बलानबिहुल ६ का ३८ वर्षीय शिवकुमार यादवसँग मिलेर जबरजस्ती वेश्यावृत्ति गराएको आरोपमा पक्राउ गरेको छ।

उनीहरूलाई पनि सात दिनको म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको छ। प्रहरीले सबै घटनाका पीडित महिलाको पहिचान गोप्य राख्दै उनीहरूलाई ‘साङ्केतिक नाम’ दिएर कानुनी प्रक्रिया अगाडि बढाएको छ।

जिल्लामा पछिल्लो समय होटल तथा निजी घर प्रयोग गरी यस्ता अवैध गतिविधि सञ्चालन गरिएको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालले बताए ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलवार ०६:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।