Logo

विविध

बाख्रा वितरणमा भ्रष्टाचार गर्ने तत्कालीन वडाध्यक्ष र इन्जिनियरसहित तीन जनालाई एक वर्ष कैद र जरिवाना



काठमाडौँ । विशेष अदालतले धनुषाको सबैला नगरपालिकामा बाख्रा तथा च्यापकटर मेसिन वितरणका नाममा भ्रष्टाचार गरेको ठहर गर्दै तत्कालीन वडाध्यक्ष र इन्जिनियरसहित तीन जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ।

मंगलबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्टराई तथा सदस्यहरू हेमन्त रावल र उमेश कोइरालाको इजलासले उक्त फैसला गरेको हो ।

अदालतले तत्कालीन वडाध्यक्ष दुर्गाप्रसाद राय, इन्जिनियर रन्जित कुमार यादव र सहकारी अध्यक्ष संजु कुमारी यादवलाई जनही १ वर्ष कैद र ४ लाख ९२ हजार ५ सय रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो ।

त्यस्तै उनीहरूबाट जनही १९ हजार ७ सय रुपैयाँका दरले क्षतिपूर्ति शुल्क असुल गरी पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला सुनाएको छ ।त्यस्तै कुल बिगो रकम १४ लाख ७७ हजार ५ सय रुपैयाँ रहेकोमा तीनै जनाबाट दामासाहीले (बराबर) असुल उपर गरिने फैसलामा उल्लेख छ ।

सोही मुद्दामा आरोपी रहेका तत्कालीन लेखापाल शिव कुमार झा, पशु प्राविधिक राजकिशोर सल्हैता, पलवी ठाकुर र रौतित ठाकुरलाई भने अदालतले सफाइ दिएको छ ।

उनीहरूको संलग्नता पुष्टि हुने पर्याप्त वस्तुनिष्ठ आधार र प्रमाण नभेटिएकाले उनीहरूले आरोपदाबीबाट सफाइ पाएका हुन् ।

धनुषाको सबैला नगरपालिका वडा नम्बर ८ का तत्कालीन वडाध्यक्ष दुर्गाप्रसाद राय, नगरपालिकाका तत्कालीन इन्जिनियर रन्जित कुमार यादव र अर्चना कृषि सहकारी संस्थाकी अध्यक्ष संजु कुमारी यादवको आपसी मिलेमतोमा भ्रष्टाचार भएको पुष्टि भएको छ।

उनीहरूले बाख्रा, पाठा, खसी र च्यापकटर मेसिन खरिदै नगरी झुट्टा बिल भरपाई खडा गरी रकम भुक्तानी लिएको र किसानलाई वितरण समेत नगरेको पाइएको छ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलवार १९:५३   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।