काठमाडौं ।काठमाडौंको थापाथलीस्थित बागमती किनारबाट विस्थापित गरिएका सुकुम्बासीहरूको अवस्था कस्तो होला ? काठमाडौं महानगरपालिकाले उनीहरूलाई कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग व्यासको परिसरमा लगेर राखेको खबर बाहिरिएपछि यही प्रश्नले मलाई त्यहाँसम्म डोहोर्यायो ।
मंगलबार बिहान करिब ११ बज्दै थियो, जब म राधास्वामी सत्संगको गेटमा पुगेँ । बाहिरबाट हेर्दा गेट सुनसान थियो। तर, त्यो शान्त पर्खालभित्र आश्रयविहीन मानिसहरूको कोलाहल र आँसु दबिएको थियो ।
म क्यामेरा पर्सन साथी कुशल बस्ताकोटीको साथमा त्यहाँ पुगेको थिए । म त्यहाँ पुगेपछि भित्र प्रवेशका लागि सुरक्षाका लागि बसेका प्रहरीलाई आफ्नो परिचय दिएँ । उहाँहरूले भित्र खटिएका महानगर प्रहरीतर्फ इसारा गर्दै उनीहरूसँगै कुरा गर्न सुझाउनुभयो ।
सत्संगको गेटभित्रको खुल्ला आँगनजस्तो स्थानमा लहरै टेन्टहरू टाँगिएका थिए। त्यही टेन्टमुनि थापाथलीबाट उठाइएका सुकुम्बासीहरूलाई राखिएको रहेछ । हामी त्यहाँ पुग्दा महानगरले उनीहरूलाई खाना खुवाउने तयारी गर्दै थिए ।
मैले त्यहाँ खाना लिएर आएका नगर प्रहरी र कोटेश्वरबाट आएकी एकजना स्वास्थ्यकर्मी महिलालाई आफ्नो परिचय दिएँ । ‘म न्यूज एजेन्सीबाट आएकी हुँ, यहाँ रहेका महिला र बालबालिकाको अवस्थाबारे जानकारी लिनु छ, कुरा गर्न मिल्छ ?’ मेरो प्रश्नमा उहाँहरूले ‘मिल्छ’ भनेपछि मैंले गेटबाहिर कुरिरहेका क्यामेरापर्सन साथी कुशललाई पनि भित्र बोलाएँ ।
खर्च अभावमा अस्पताल जान नसकेका युवा
टेन्टबाहिर चौरमा कुशल, म, ती स्वास्थ्यकर्मी महिला र दुईतीन जना प्रहरी उभिएका थियौं । हामीसँगै थापाथली बस्तीबाटै विस्थापित दुईजना वयस्क र एक युवा पनि उभिएका थिए । ती युवाको हातको औंलामा सेतोपट्टी बाँधिएको थियो ।
स्वास्थ्यकर्मी महिलाले ती युवाको हाततिर इसारा गर्दै गम्भीर स्वरमा भनिन्, ‘यिनको हातको औंलाको नङ पूरै उक्किएको छ । अस्पताल नै लैजानुपर्छ ।
पाँचसय रुपैंया पैसा भएको भए पठाउन सकिन्थ्यो, के गर्ने म्याम ? केही गर्न सकिन्छ ? मैले यहाँ ड्रेसिङ त गरिदिएँ, तर त्यसले मात्र हुँदैन । संक्रमण फैलिन सक्छ ।’
स्वास्थ्यकर्मीको कुरा नसकिँदै मैले ती युवालाई नियालेँ । उनको हातमा मात्र होइन, घाँटीको पछाडितिर पनि साना चोटहरू प्रष्ट देखिन्थे ।
पीडाले चाउरिएको अनुहारसहित ती युवाले मलिन स्वरमा स्वास्थ्यकर्मीसँग भने, ‘यहाँ सबैजनासँग मागेँ, एकदुई सय रुपैयाँ पनि कोहीसँग छैन । धन्न हजुरले ड्रेसिङ गरिदिनुभयो र अलि पिडा कम भएको छ ।’
मैले अचम्म मान्दै सोधेँ, ‘महानगरले यहाँ हेल्थ क्याम्प राखेको छैन र ?’
‘हामीले नै हो हेर्ने,’ स्वास्थ्यकर्मी महिलाले छोटो उत्तर दिइन्। हामी आफैँसँग पनि त्यसबेला नगद पैसा नभएकाले ती युवालाई तत्काल आर्थिक सहयोग गर्न नसकेकोमा मन चिसो भयो ।
‘म बाहिर ज्यामी काम गर्थेँ । सानी छोरी छे, के गर्नु ? अहिले काममा जान पनि पाएको छैन । पैसा नभएर उपचार गर्न पनि पाइएन, बिजोग छ,’ ती घाइते युवाको भनाइले त्यहाँ भित्रको असहायपनलाई छर्लङ्ग पाथ्र्यो । महानगरले उपचारको व्यवस्था छ भन्दै दाबी गरे पनि त्यहाँ एउटा सामान्य मलमपट्टी बाहेक थप उपचार नपाएर मानिसहरू छटपटाइरहेका थिए।
एउटा म्याटमा अटाएको सिंगो परिवारको संसार
कुरा गर्दै गर्दा मेरो आँखा टेन्टभित्र गयो । त्यहाँको दृश्यले जोकोहीको हृदय पगाल्थ्यो । एउटा सामान्य म्याट ओछ्याउँदा जति ठाउँ ओगट्छ, त्यही सानो घेराभित्र सपरिवार बस्नुपर्ने बाध्यता थियो । त्यहाँ जम्मा ४६ परिवारलाई राखिएको थियो।
ढोका नजिकैको एउटा परिवारमा मेरो नजर पर्यो । ओछ्यानमा एकजना वृद्ध बा पल्टिरहेका थिए । नजिकै एक महिला खाना खाएर खाली प्लेट टिप्दै थिइन् । प्लेटमा दिइएको खानाको मात्रा देख्दा मेरो मनमा एउटै प्रश्न उब्जियो- ‘के यति खानाले यी भोका पेटहरू भरिन्छन् होला र ?’
यत्तिकैमा एउटी सानी नानी खाली खुट्टै मेरो नजिकैबाट प्लास्टिकको खाली प्लेट फ्याँक्न दौडिँदै गइन् । महानगरले दिनमा दुई पटक मात्र खाना खुवाउने गरेको जानकारी त्यहाँ रहेका एक प्रहरीले दिए ।
यस्तो चिसो भुइँमा, अपर्याप्त खाना र खुल्ला आकाशमुनिको टेन्टको बसाइले बालबालिका र वृद्धवृद्धाको स्वास्थ्य कति जोखिममा होला भन्ने सोचेर मेरो आँखा रसायो ।
सञ्चारमाध्यमलाई ‘नो इन्ट्री’
टेन्टभित्र कतैबाट सानो बच्चा रोएको आवाज आइरहेको थियो । सायद त्यहाँ भित्र कुनै सुत्केरी आमा र नवजात शिशु थिए । मैंले त्यहाँको अवस्थाबारे भिडियो खिच्न र उनीहरूसँग कुरा (बाइट) लिन खोजेँ। तर, मलाई टेन्टभित्र जान दिइएन । मंैले म बाहिर बोलाएर कुरा मात्र गर्छु भन्दा पनि नदिदाँ छक्क परें । यसलाई मैंले ‘निरकुशता’को संकेत ठाँने । अर्थात मिडियाबाट महानगर आजित भएको हो ? थुप्रै प्रश्नहरु मनमा खेलिरहे ।
एक नगर महिला प्रहरीले अगाडि सरेर कडा स्वरमा भनिन्, ‘यहाँ फोटो, भिडियो खिच्न मिल्दैन । सञ्चारकर्मीहरूलाई भित्र आउन अनुमति नै छैन ।’
म छाँगाबाट खसेझैँ भए। म कुरा मात्र गर्छु नि त, भन्दा उनले कन्ट्रोल रुमको नम्बर दिँदै भनिन्, ‘माथि नै कुरा गर्नुपर्छ ।’ मैले तत्काल अनुमति माग्न कन्ट्रोल रुममा फोन लगाएँ, तर उताबाट ‘मिडियालाई अनुमति दिने आदेश नभएको जवाफ आयो ।
आईसीयू बाहिरको कुरुवाजस्तै अनुभव
त्यहाँ प्राथमिक उपचार बाकस (फस्र्ट एड बक्स) राखिएको एउटा सानो टेबल थियो, जहाँ केही सामान्य औषधि, पट्टी र कपास राखिएका थिए । त्यही टेबलको आडमा उभिएका घाइते युवा र स्वास्थ्यकर्मीलाई छाडेर म बाहिरिन विवश भएँ ।
टेन्टबाहिर निस्किँदै गर्दा मेरो मस्तिष्कमा एउटा चित्र नाचिरह्यो म मानौं कुनै अस्पतालको आईसीयू बाहिर उभिएकी बिरामीकी कुरुवा हुँ, जसलाई डाक्टरले भित्र बिरामी भेट्न सख्त मनाही गरेका छन् र बाहिरबाटै बिरामीको अवस्थाबारे सोधपुछ गरिरहेकी छु ।
म राज्यको चौथो अंग भनिने सञ्चार जगतकी प्रतिनिधि हुँ । नागरिकलाई सूचना प्रवाह गर्ने मेरो दायित्व हो । तर, त्यहाँभित्र सुकुम्बासीहरू कुन हालतमा छन्, कस्तो पीडामा छन् भन्ने कुराबाट म आफैँ बेखबर बनाइएकी थिएँ ।
महानगरले बाहिर मिडियामा सबै व्यवस्थापन राम्रो छ भनेर दाबी गर्छ, तर भित्र मानिसहरू पाँचसय रुपैयाँ नभएर उपचार नपाई छटपटाइरहेका छन् ।
सत्य लुकाउन मिडियालाई प्रवेश निषेध गरिएको छ । यो कस्तो न्याय हो ?, कस्तो व्यवस्थापन हो? यिनै अनुत्तरित प्रश्नहरू र एकभारी निराशा बोकेर म, कुशलसँगै त्यो सुनसान गेटबाट बाहिरियौं । तर, ती युवाको उक्किएको नङ र खाली खुट्टा हिँडिरहेकी ती बालिकाको अनुहारले मलाई लामो समयसम्म पछ्याइरहनेछ ।





















प्रतिक्रिया