Logo

राजनीति

नयाँ मन्त्रीहरु नियुक्त गर्ने तयारीमा ओली, प्रचण्डसँग थाले परामर्श !



प्रधानमन्त्री केपी शर्मा ओली रिक्त रहेका मन्त्रालयमा नयाँ मन्त्रीहरु नियुक्त गर्नेगरि आन्तरिक छलफलमा जुटेका छन् । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग आन्तरिक परामर्श अघि बढाएका हुन । आजमात्रै अध्यक्षद्धयबीच यसबारेमा छलफल भएको नेकपानिकट स्रोतले जनाएको छ ।

अहिले अर्थ र सञ्चार मन्त्रालय ओली आफैंले सञ्चालन गरिरहेका छन् । युवराज खतिवडाले राजीनामा दिएपछि ओलीले अर्थ र सञ्चार मन्त्रालयको नेतृत्व आँफैले गरिरहेका छन् । त्यस्तै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले पनि शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । अर्थ, सञ्चार र शहरी विकास मन्त्रालयमा ओलीले मन्त्रीको रुपमा नयाँ अनुहार ल्याउनेगरि तयारी थालेका छन् ।

क–कसलाई मन्त्री बनाउने भन्नेबारे ओलीले अर्का अध्यक्ष दाहालसँग परामर्श गरेका हुन् । यसअघि मन्त्रिमण्डल पूनर्गठनको चर्चा चलेको थियो । तर, ओलीले तत्काल मन्त्रिमण्डल पूनर्गठन नहुने कुरा पत्रकार ऋषि धमलासँग प्राईम टाईम्स टिभीको जनता जान्न चाहन्छन् कार्यक्रममा स्पष्ट पारिसकेका छन् । उनले मुख्यमन्त्रीहरुपनि अर्को चुनाव नभएसम्म परिवर्तन नहुने स्पष्ट पारिसकेका छन् ।

ओली र दाहालबीचको सहमतिअनुसार नै तत्काल मन्त्रिमण्डल पूनर्गठन नहुने नेकपा स्रोतको दाबी छ । तर, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपालले भने मन्त्रिमण्डल पूनर्गठनमा जोड दिँदै आएका छन् । ओलीले भने आफूले यसबारेमा सोचेको भएपनि तत्काल पूनर्गठन नहुने जवाफ दिएका छन् । मन्त्रिपरिषदको बैठक भोलि बस्दैछ । सम्भवतः भोलिको बैठकमा नै ओलीले तीन जना मन्त्री नियुक्त गर्ने र सरकारको प्रवक्तासमेत चयन गर्ने बुझिएको छ।

भोलि नै नेकपाको स्थायी कमिटीको बैठक बस्दैछ । यसअघि पार्टीभित्रको आन्तरिक विवाद समाधानको लागि गठित कार्यदलको प्रतिवेदनमा केन्द्रित रहेर भोलिको बैठक औपचारिकताका लागि मात्रै बस्ने बुझिएको छ। बैठक बढिमा दुई दिनसम्म मात्रै चल्ने र धेरै नलम्बिने बुझिएको छ ।

दशैंको मुखमा मन्त्री बन्न यीनको दौड

 प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय लामो समय खाली नराख्ने भएका छन् । उनले आफ्ना विश्वासपात्रमध्येबाट केहीलाई मन्त्री बनाउने तयारी गरेका छन् । उपप्रधानमन्त्री बन्ने आकांक्षाका साथ बामदेव गौतम अगाडि सरेका छन् । उनले सिधै ओलीलाई बालुवाटारमा भेटी अर्थमन्त्रीको दाबी प्रस्तुत गरेका छन् । तर, ओलीले हुन्न भन्न नसकेपनि हुन्छ भनेका छैनन् । गौतम भने अर्थमन्त्री नपाए राष्ट्रिय सभा सांसद पनि नबस्ने तयारीमा छन् । 

महासचिव विष्णु पौडेल मन्त्री बन्न तयार छैनन् । उनले पार्टीकै जिम्मेवारी लिने सोच बनाएका छन् । तर, ओलीका विश्वासपात्र शंकर पोखरेल मन्त्री बन्ने सम्भावना बढेको छ । उनले प्रदेश ५ को मुख्यमन्त्री छाडेर अहिलेलाई छ महिना मन्त्री बन्नेबारे छलफल चलाएका छन् ।

ओलीले पनि पोखरेललाई सिंहदरबारमा प्रवेश गराउन खोजेका छन् । उनका लागि एउटा सिट राष्ट्रियसभा सदस्य खाली बनाउने सम्मको तयारी छ । माधव नेपाल समुहबाट सुरेन्द्र पाण्डेको सम्भावना बलियो छ । उनले अर्थमन्त्री ताकेका छन् । तर, ओली आफ्ना विश्वासपात्रबाट अर्थमन्त्री अन्यत्र पठाउने चाहना गरिरहेका छैनन् । सञ्चार मन्त्रालयमा पनि धेरैको दाबी छ । ओलीले सञ्चारमन्त्री बनाएर आफ्ना एकजना विश्वासपात्रलाई सरकारको प्रवक्ता बनाउन खोजेका छन् ।

भोलि नेकपा स्थायी कमिटी बैठक बसेर चाँडै टुंग्याउने तयारी समेत छ । त्यसपछि मन्त्रीमण्डल पुर्नगठनको सम्भावना बलियो छ । दशैंको मुखमा नयाँ मन्त्री बन्ने दाउमा धेरै नेताहरु छन् । ओलीले मन्त्रिमण्डल पुर्नगठन तत्काल नहुने भनेका छन् । तर, दशैंको मुखमा पुर्नगठन हुँदा केही हेरफेर समेत हुने अवस्था छ । कार्यसम्पादन हेरेर राख्ने र हटाउने बारे ओलीले आन्तकि बैठकमा छलफल चलाएका छन् ।

मन्त्री बन्ने दौडमा भीम रावल, पम्फा भुषाल, जर्नादन शर्मा, टोपबहादु रायमाझी, महेश बस्नेत, किसनलाल श्रेष्ठलगायतका ठुलो संख्यामा नेताहरुको दौड चलेको छ ।

नेकपा स्थायी कमिटी बैठक बस्दै, यी हुन् १५ एजेन्डा

 नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठक बस्दैछ । आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको समस्या समाधान सुझाव कार्यदलले प्रस्तुत गरेको सुझाव प्रतिवेदनलाई सुधार गरी प्रस्तुत गरेका छन् ।

१३ साउनमा स्थगित भई आजका लागि डाकिएको बैठकमा १५ वटा बुँदागत एजेन्डामा छलफल हुने भएको छ । जसमा पार्टीमा कार्यविभाजन देखि एमसीसीसम्मका विषय छन् ।

बैठकमा पार्टीको पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताको बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा संगठनात्मक क्षेत्र, एकताको राष्ट्रिय अधिवेशन, सरकारको कामका सम्बन्धमा, संसदीय दलको भुमिकालाई प्रभावकारी बनाउने, प्रदेश सरकार र स्थानीय निकायको भूमिका प्रभावकारी बनाउने, नेपालको सीमा समस्या र समाधान, कोभिड १९ को महामारीको राकथाम, प्राकृतिक प्रकोप, शान्ति प्रक्रियाको बाँकी काम, प्रतिष्ठानहरुको व्यवस्थापन र एमसीसीबारे छलफल हुने भएको छ ।

बैठकको एजेन्डा सबै स्थायी कमिटी सदस्यहरुको हातमा पुगिसकेको छ । सबैलाई लिखित सुझाव लिएर प्रस्तुत हुन भनेकाले बैठक सकेसम्म आजै टुंगाउने गरी तय भएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार १०:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।