Logo

मनोरञ्जन

कलाकर्मी भन्छन्- ‘लालीबजार वर्षौंसम्म सम्झिने फिल्म बनेको छ’



काठमाडौं । दोस्रो सातामा प्रदर्शनरत फिल्म ‘लालीबजारु लाई विशेष प्रदर्शनीमा कलाकर्मीले तारिफ गरेका छन् । फिल्मको विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयलाई उपस्थित कलाकर्मीले मुक्तकण्ठले तारिफ गरेका हुन् ।

सोमबार बेलुकी काठमाडौँस्थित जय नेपाल हलमा आयोजना गरिएको विशेष प्रदर्शनीमा फिल्म हेरेपछि अभिनेता तथा निर्देशक नीर शाहले वर्षौंसम्म सझिने कोसेली उपहार पाइएको बताए ।

उनले भने, ‘निर्माताले हामीलाई आगामी धेरै वर्षसम्म सम्झिने फिल्म उपहार दिनुभएको छ, यो कोसेलीका लागि धन्यवाद । एउटा नेपालकै कथामा आधारित राम्रो फिल्म हेर्न पाएँ, जुन विश्वासका साथ हल छिरेको थिएँ, निस्किँदा त्यो भन्दा बढी पाएँ । यसमा स्वस्तिमाजीले गर्नुभएको काम अघिल्ला काम भन्दा ज्यादै माथी छ, अब उहाँको प्रतिष्पर्धा स्वयम् आफैँसँग हुनेछ । आगामी दिनमा उहाँले मधुवाला नामक पात्रलाई जित्ने अभिनय गर्नुपर्छ, साथै नव अभिनेता विशाल र प्रशंसाले पनि राम्रो काम गरेका छन् । सबै पात्र जीवन्त छन्, हामी त्यहि संसारमा पुगेको आभाष हुन्छ ।’

अभिनेता शाहले फिल्म ‘लालीबजारु हेरेर मात्र यसबारे आफ्नो धारणा बनाउन आग्राग गरे । अभिनेत्री प्रियंका कार्कीले फिल्मको विषयवस्तु र कलाकारको अभिनयले बाँधेर राख्ने बताइन । ‘फिल्म हेरिरहदा समय बितेसँगै पटकथा सलल बगेको छ, कलाकारले उस्तै सशक्त अभिनय गरेका छन् । फिल्म हेर्दा कतै निस्किने वा मोबाइल चलाउन मन लाग्दैन, बाँधेर राख्छ । फिल्मको क्लाइमेक्स झनै सशक्त छ, यो फिल्म हेर्नै पर्ने बनेको छ,’ अभिनेत्री कार्कीले भनिन् ।

अभिनेत्री वर्षा राउतले षट्कोण आट्र्सले दर्शकको रोजाई बुझेर नै फिल्म तयार गर्ने गरेको बताइन । उनले भनिन्, ‘मैले षट्कोण आट्र्ससँग धेरै काम गरेकी छु, उहाँहरू दर्शकको रोजाई र बुझाइसँग नजिक रहेर काम गर्नुहुन्छ । यो फिल्म हामी दर्शक भएर हेर्दा र क्रिटिक्स भएर हेर्दा पनि मन पर्नेगरी तयार गर्नुभएको छ । सामाजिक विषयलाई यस्तो मज्जाले फिल्ममा प्रस्तुत गर्नुभएको छ की यो गज्जब बनेको छ, यो फिल्म नछुटाउनु होला ।’

अभिनेता आयुष्मान डिएस जोशीले फिल्ममा स्वस्तिमा खड्का अघिल्ला फिल्मको तुलनामा निकै सशक्त रुपमा प्रस्तुत भएको बताए । फिल्ममा समावेश लोकप्रिय गीत ‘मायालाई के दिउँ म बैना’का गायक तथा सङ्गीतकार खेम सेन्चुरीले फिल्म हेर्दा आफ्नो आँखा रसाएको प्रतिक्रिया दिए। ‘फिल्मको बारेमा जति चर्चा छ, त्यो भन्दा फिल्म निकै राम्रो बनेको छ । यो फिल्मले कुनै समुदायलाई कहिँ कतै बुझाएको छैन, यसले एउटी आमाले सन्तान रक्षाको लागि के सम्म गर्छिन् भन्ने देखाएको छ । फिल्म हेर्दा नरसाउने आँखा सायद निकै कम हुन्छन् । अभिनेत्री स्वस्तिमासहित म सबैको फ्यान भएँ, निकै उत्कृष्ट बनेको छ फिल्म, यसको पार्ट हुन् पाउँदा गौरव लागेको छु, गायक सेन्चुरीले भने ।

अभिनेत्री स्वस्तिमा खड्काले दर्शक र कलाकर्मीबाट पाइरहेको प्रतिक्रियाले आफूसहित सम्पूर्ण टिम उत्साहित रहेको बताइन । ‘हामीले प्रिमियर र अहिले स्पेसल स्क्रीनिङ गर्यौं, मोफसलसँगै काठमाडौँका दर्शकलाई हलमा पुगेर भेटघाट गरिरहेका छौँ । सबैले दिनुभएको प्रतिक्रिया उस्तै छ । फिल्म बुझ्नु भएका कलाकर्मीदेखी मनोरन्जनका लागि फिल्म हेर्न हल आउने दर्शकसम्म सन्तुष्ट हुनहुन्छ, यो नै हाम्रो सफलता हो’ उनले भनिन् ।

अभिनेत्री खड्काले आज मंगलवारदेखि ‘लालीबजारु टिम पूर्वका दर्शकसँग भेटघाट गर्न र प्रतिक्रिया लिन विर्तामोडबाट पुनः मोफसल यात्रा सुरू हुने बताइन । उनका अनुसार काठमाडौँ र मोफसलका हलमा टिम बाँडिएर दर्शकसँग भेटघाट गरिनेछ । यसअघि नेपालगंज, सुर्खेत, बुटवल, चितवन र पोखराका दर्शकसँग ‘लालीबजारु टिमले भेटघाट गरिसकेको छ ।

यसैगरी फिल्म ‘लालीबजारु को ट्रेलर युट्युबको मुभी चार्टतर्फ नम्बर १ मा छ । यसले फिल्म प्रति दर्शकको चासो बढिरहेको र आगामी दिनमा अझैँ राम्रो व्यापार गर्ने सङ्केत गरेको छ । फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय रहेको छ ।

यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् । विशाल थियटरमा काम गरीरहेका कलाकार हुन् भने प्रसंशा जेनजी अभिनायताका रुपमा चर्चित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् ।

फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।

फिल्ममा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक र मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट) कस्ट्युम डिजाइनर र स्टाइलिस जानकी कडायत, मेकअप काव्या थापा, सङ्गीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको रहेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलवार १३:४९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।