काठमाडौं । मधेसमा अप्रत्याशित सफलता हासिल गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र प्रभावशाली नेताका रूपमा स्थापित भएका अमरेस कुमार सिंह र मनिष झाबीच शक्ति सन्तुलनको प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। पार्टीभित्र नेतृत्व, सरकारमा प्रतिनिधित्व र मधेसको राजनीतिक भविष्यलाई लिएर दुवै नेताबीच मौन प्रतिस्पर्धा बढ्दै गएको चर्चा राजनीतिक वृत्तमा हुन थालेको छ।
गत प्रतिनिधिसभा निर्वाचनमा मधेसका परम्परागत दलहरूलाई पछि पार्दै रास्वपाले उल्लेखनीय सफलता हासिल गरेपछि अमरेस र मनिष दुवै मन्त्री बन्ने अनुमान गरिएको थियो। विशेषगरी गृह मन्त्रालयको जिम्मेवारी यी दुईमध्ये एकले पाउने चर्चा चलेको थियो। तर अन्ततः प्रधानमन्त्री बालेन साहको विश्वासपात्र मानिएका सुदन गुरुङ गृहमन्त्री बने। गुरुङको छोटो कार्यकालमै राजीनामा भएपछि पुनः मनिष झा वा अमरेस सिंहलाई अवसर मिल्ने अपेक्षा गरिएको थियो। तर गृह मन्त्रालय प्रधानमन्त्री साहले आफैंसँग राखेपछि मधेसबाट निर्वाचित सांसदहरूमा असन्तुष्टि बढेको बताइन्छ।
पार्टीभित्रको असन्तुष्टि केवल मन्त्री पदमा सीमित छैन। मधेसको प्रतिनिधित्व, निर्णय प्रक्रियामा सहभागिता र सरकारको शक्ति संरचनामा आफ्नो प्रभाव स्थापित गर्ने विषयमा पनि प्रतिस्पर्धा देखिन थालेको छ। एक पक्षले मनिष झालाई मधेसको नयाँ अनुहारका रूपमा अघि सार्न खोजिरहेको छ भने अर्को पक्ष अमरेस सिंहको राजनीतिक अनुभव र स्पष्ट अभिव्यक्तिलाई बलियो आधार मानिरहेको छ।
राजनीतिक वृत्तमा मधेस केन्द्रित शक्ति पुनर्संरचनाको चर्चा पनि सुरु भएको छ। मधेसका सांसदहरूलाई एकीकृत गर्ने प्रयासहरू बढिरहेका बेला रास्वपाभित्रै मनिष र अमरेसमध्ये कसले नेतृत्व लिने भन्ने प्रश्न थप पेचिलो बन्दै गएको छ। यसबीच अमरेस सिंहले सरकारप्रति सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गर्दै आएका छन् भने मनिष झा तुलनात्मक रूपमा संयमित भूमिकामा देखिएका छन्।
विश्लेषकहरूका अनुसार मधेसबाट निर्वाचित रास्वपाका सांसदहरू संगठित रूपमा प्रस्तुत भएमा त्यसले पार्टीभित्रको शक्ति सन्तुलन मात्र होइन, सरकारको स्थायित्वमा समेत प्रभाव पार्न सक्छ। मधेसमा पुराना दलहरू कमजोर बनेको अवस्थामा नयाँ नेतृत्वको खोजी भइरहेको छ। तर त्यही नेतृत्वको केन्द्रमा रहेका दुई नेताबीचको प्रतिस्पर्धाले रास्वपाभित्र नयाँ राजनीतिक ध्रुवीकरणको संकेत देखाउन थालेको छ।
मधेसमा स्थापित हुने दौड र काठमाडौंको सत्ता राजनीतिमा प्रभाव विस्तार गर्ने प्रतिस्पर्धाबीच रास्वपाका दुई प्रभावशाली अनुहार—अमरेस सिंह र मनिष झा—बीचको शक्ति संघर्ष अब पार्टीको आन्तरिक विषय मात्र नभई राष्ट्रिय राजनीतिक चासोको विषय बन्न थालेको छ।




















प्रतिक्रिया