Logo

पर्यटन

म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ



म्याग्दी । लगातार चार दिनको सार्वजनिक बिदा र भारतबाट आएका पर्यटकको चापका कारण म्याग्दी र मुस्ताङका पर्यटकीय क्षेत्र तथा होटलहरू भरिभराउ भएका छन्।

बेनी–जोमसोम सडकखण्ड आसपासका म्याग्दीका बेनी, गलेश्वर, तिप्ल्याङ, पोखरेबगर, भुरुङ–तातोपानीलगायत क्षेत्रका होटल तथा मुस्ताङका अधिकांश पर्यटकीय गन्तव्यमा आवास सुविधा पूर्ण क्षमतामा सञ्चालन भएका छन्।

गलेश्वर, भुरुङ–तातोपानी, रुप्से झरना, महभीर झरना र अन्धगल्छी क्षेत्रमा पर्यटकको उल्लेख्य भीड देखिएको छ। अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानीका होटल व्यवसायी राजु हमालका अनुसार गर्मी छल्न भारतबाट आएका पर्यटक र बिदा मनाउन विभिन्न जिल्लाबाट पुगेका आन्तरिक पर्यटकका कारण होटल भरिएका हुन्।

‘मुस्ताङका होटलमा ठाउँ अभाव भएपछि केही पाहुनालाई म्याग्दी, बागलुङ, कुश्मा र पोखरासम्म व्यवस्थापन गरिएको छ,’ उनले भने।

भुरुङ–तातोपानी कुण्डका सञ्चालक हेमनारायण पुनले पनि मुस्ताङ आवतजावत गर्ने पर्यटकको चाप बढेकाले व्यवसायीहरूलाई भ्याइनभ्याई भएको बताए।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार पछिल्लो चार दिनमा बेनी–जोमसोम सडकमार्फत ३० हजारभन्दा बढी पर्यटक मुस्ताङ भित्रिएका छन्।

घाँसा प्रहरी चौकीको अभिलेखअनुसार बुधबार ५ हजार ५ सय ८६, बिहीबार ७ हजार ८ सय २७ र शुक्रबार ९ हजार ८६ पर्यटक मुस्ताङ प्रवेश गरेका थिए। शनिबार पनि सोही हाराहारीमा पर्यटक भित्रिएको प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए।

मुस्ताङका होटलमा दैनिक करिब १० हजार र म्याग्दीका होटलमा करिब २ हजार पाहुना राख्ने क्षमता रहेको छ।

मुस्ताङ पुग्ने अधिकांश आन्तरिक पर्यटक घाँसादेखि चीन सीमास्थित कोरला नाकासम्म यात्रा गर्ने गरेका छन्।

उच्च हिमाली क्षेत्रमा जाने पर्यटकलाई लेक लाग्न सक्ने जोखिमबारे सचेतना अभियानसमेत सञ्चालन गरिएको स्थानीय प्रशासनले जनाएको छ। आन्तरिक पर्यटकको बसाइ सामान्यतया दुईदेखि चार दिनसम्म रहने गरेको छ।

भारतको बिहारबाट आएका शम्भु साहले गर्मी छल्न र मुक्तिनाथ दर्शनका लागि परिवार तथा छिमेकीसँग बस रिजर्भ गरेर मुस्ताङ पुगेको बताए।

यस्तै, काठमाडौंका हरि न्यौपानेले चार दिनको सार्वजनिक बिदाको अवसर पारेर परिवार र साथीभाइसँग मुस्ताङ तथा ढोरपाटन भ्रमण गरेको बताए।

यद्यपि बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा स्तरोन्नति तथा बाढीपहिरो व्यवस्थापनका लागि सवारी आवागमनमा लगाइएको प्रतिबन्धले यात्रामा केही सास्ती भएको पर्यटकहरूको गुनासो छ।

मुक्तिनाथ र कागबेनीको तीर्थयात्रा, हिमाली भू–दृश्य, तालतलैया, स्थानीय संस्कृति तथा सवारीमार्फत कोरला नाकासम्म पुग्न सकिने सुविधाका कारण पछिल्ला वर्षहरूमा मुस्ताङ आन्तरिक पर्यटकको प्रमुख रोजाइ बन्दै गएको छ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आईतवार ०७:२६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।