आज विश्व बुवाआमा दिवस । संसारमा धेरै सम्बन्ध हुन्छन्, धेरै नाता जोडिन्छन्, तर बुवाआमाको माया जस्तो निस्वार्थ, निष्कलंक र पवित्र सम्बन्ध अर्को कुनै हुँदैन । हामी जन्मिनुअघि नै हाम्रो भविष्यको सपना देख्ने, आफूले दुःख सहेर पनि हाम्रो अनुहारमा मुस्कान ल्याउने व्यक्ति भनेकै बुवाआमा हुन् । उनीहरूका लागि सन्तानको खुसी नै आफ्नो जीवनको सबैभन्दा ठूलो उपलब्धि हुन्छ । तर दुःखको कुरा, आजको व्यस्त जीवनशैलीले हामीलाई त्यही अमूल्य सम्बन्धबाट विस्तारै टाढा बनाउँदै लगिरहेको छ ।
जीवनको दौडमा हामी यति धेरै हराएका छौँ कि कहिलेकाहीँ आफ्नै बुवाआमासँग केही मिनेट बसेर कुरा गर्ने समय पनि निकाल्न सक्दैनौँ । उनीहरूलाई महँगो उपहार, ठूलो घर वा धनसम्पत्ति चाहिएको हुँदैन, चाहिएको हुन्छ त एक निस्वार्थ आफ्ना सन्तानको साथ, केही आत्मीय संवाद र मायाको अनुभूति । दिनभरि फोनको घण्टी बज्ला कि भनेर प्रतीक्षा गरिरहेका बुवाआमाको मनमा कति चाहना र कति पीडा लुकेको हुन्छ भन्ने कुरा हामीले प्राय बुझ्न सकिरहेका हुँदैनौँ ।
हरेक बुवाआमाले आफ्ना छोराछोरीको उज्ज्वल भविष्यका लागि अनगिन्ती त्याग गरेका हुन्छन् । आफ्नो रहर मारेर, पसिना बगाएर र अनेकौँ दुःख सहेर उनीहरूले सन्तानलाई सफल बनाउन खोजेका हुन्छन् । तर समयसँगै सन्तानहरू पढाइ, जागिर वा व्यवसायका कारण टाढा पुग्छन् र घरको आँगन सुनसान बन्छ । वृद्ध हुँदै गएका बुवाआमाका आँखाहरू अझै पनि ढोकातिर फर्किरहेका हुन्छन्, सायद आज सन्तान आउला, आज एउटा फोन त गर्ला भन्ने आशामा । त्यो प्रतीक्षाभन्दा ठूलो पीडा सायद संसारमा अरू केही हुँदैन ।
समयको सबैभन्दा कठोर सत्य के हो भने बुवाआमा सधैँ हाम्रो साथमा रहँदैनन् । आज बेवास्ता गरेका ती अनुहारहरू भोलि खोजेर पनि भेट्न सकिँदैनन् । आज गर्न नसकेका कुराकानी, दिन नसकेका अँगालो र व्यक्त गर्न नसकेका मायाका शब्दहरू एक दिन जीवनकै ठूलो पछुतो बन्न सक्छन् । जब घरको एउटा खम्वा सधैँका लागि ढल्छ, तब मात्र हामीलाई बुवाआमाको उपस्थितिको वास्तविक मूल्य थाहा हुन्छ । तर त्यतिबेला समय धेरै टाढा पुगिसकेको हुन्छ ।
यस विश्व बुवाआमा दिवसमा एउटा संकल्प गरौँ जति व्यस्त भए पनि बुवाआमाका लागि समय निकालौँ । टाढा छौँ भने फोन गरौँ, नजिक छौँ भने केहीबेर उनीहरूसँग बसौँ, उनका कुरा सुनौँ र मन खोलेर माया व्यक्त गरौँ। बुवाआमाको मन जित्न ठूलो धनसम्पत्ति आवश्यक पर्दैन, केही क्षणको साथ र आत्मीयताले नै उनीहरूलाई संसारकै धनी बनाइदिन्छ । आजै एकपटक उनीहरूलाई अँगालो हालेर भनौँ, “तपाईंहरू नै मेरो जीवनको सबैभन्दा ठूलो आशीर्वाद हुनुहुन्छ ।” किनकि संसारमा बुवाआमाको मायाभन्दा ठूलो सम्पत्ति र उनीहरूको आशीर्वादभन्दा अमूल्य उपहार अर्को कुनै छैन ।




















प्रतिक्रिया