काठमाडौँ । बालश्रम भन्नासाथ धेरैको दिमागमा अझै पनि इँटाभट्टा, होटल, रेष्टुरेन्ट क्षेत्रमा काम गर्ने वा सडकमा श्रम गर्ने बालबालिकाको दृश्य आउँछ । तर प्रविधिको विस्तारसँगै बालश्रमको स्वरूप पनि परिवर्तन हुँदै गएको छ ।
पछिल्ला वर्षहरूमा घरभित्रै मोबाइल र इन्टरनेटमार्फत गरिने ‘डिजिटल बालश्रम’ एक नयाँ र कम देखिने चुनौतीका रूपमा देखा पर्न थालेको छ ।
नयाँ स्वरूपको श्रममा बालबालिकालाई मोबाइल चलाउन, भिडियो बनाउन, सामाजिक सञ्जालमा सामग्री पोस्ट गर्न वा अनलाइन काममा सहायकको रूपमा प्रयोग गरिन्छ ।
बाहिरबाट हेर्दा यो सामान्य डिजिटल गतिविधि जस्तो देखिए पनि धेरै अवस्थामा यसले बालबालिकाको समय, शिक्षा र मानसिक विकासमा असर पारिरहेको नै हुन्छ ।
विशेषगरी युट्युब, टिकटक, फेसबुक र अन्य सामाजिक सञ्जाल प्लेटफर्मको लोकप्रियतासँगै बालबालिकालाई भिडियो बनाउन, सामग्री पोस्ट गर्न, लाइक वा भ्यू बढाउने उद्देश्यले नियमित रूपमा डिजिटल उपस्थित रहन प्रेरित गर्ने प्रवृत्ति बढ्दै गएको छ ।
कतिपय घरमा बालबालिकाको दैनिक दिनचर्या नै कन्टेन्ट क्रिएट केन्द्रित बन्न थालेको देखिन्छ, जसमा उहरूको स्कूल समय, अध्ययन र खेलकुदको समय समेत प्रभावित हुने गरेको छ ।
यसरी तयार गरिने सामग्रीमा बालबालिकाको उपस्थिति मुख्य भएपनि त्यसको योजना, व्यवस्थापन र आर्थिक लाभ प्रायः अभिभावक वा परिवारका अन्य सदस्यले लिने गरेको देखिन्छ ।
यसले बालबालिकालाई सिर्जनात्मक गतिविधिमा सहभागी गराउने भन्दापनि उत्पादनमुखी डिजिटल श्रममा प्रयोग गरिएको हो कि भन्ने प्रश्न उठ्न थालेको छ ।
डिजिटल बालश्रम केवल सामाजिक सञ्जालमा मात्र सीमित छैन । कतिपय अवस्थामा बालबालिकालाई घरभित्रै मोबाइल डेटा रिचार्ज, अनलाइन अर्डर ट्र्याकिङ वा प्रविधिसम्बन्धी साना–साना कामहरूमा प्रयोग गरिन्छ । बाहिरबाट हेर्दा यी काम सामान्य देखिए पनि जब यी काम नियमित र बाध्यात्मक बन्छन्, तब यो श्रमको रूप लिन थाल्छ ।
नेपालमा बालश्रमसम्बन्धी कानुन मुख्यतः परम्परागत श्रम क्षेत्रलाई केन्द्रमा राखेर बनाइएको देखिन्छ। डिजिटल माध्यमबाट हुने यस्तो श्रमलाई स्पष्ट रूपमा सम्बोधन गर्ने प्रावधान कमजोर रहेको छ । यस कारण धेरैजसो डिजिटल बालश्रम औपचारिक तथ्यांकमा समेत नदेखिने अवस्था छ ।
प्रविधिको प्रयोग आफैंमा गलत होइन, तर त्यसको प्रयोगले बालबालिकाको अधिकार, शिक्षा र स्वतन्त्रता प्रभावित भएमा त्यो समस्या बन्न सक्छ ।
‘रिमोट बालश्रम’ भन्ने यो नयाँ अवधारणाले अब बालश्रमलाई केवल भौतिक श्रमको रूपमा होइन, डिजिटल र अदृश्य स्वरूपमा पनि हेर्नुपर्ने आवश्यकता देखाएको छ।
समाधानका लागि अभिभावक, विद्यालय, नीति निर्माता र सञ्चार माध्यम सबैले संयुक्त रूपमा सचेतना बढाउन आवश्यक छ ।
डिजिटल युगले अवसरसँगै नयाँ जोखिम पनि ल्याएको छ । बालबालिकालाई प्रविधिसँग जोड्नु आवश्यक छ, तर उनीहरूलाई श्रमिक होइन, सिक्ने र विकसित हुने वातारणमा राख्नु अझ महत्वपूर्ण हुन्छ ।
नत्र, स्क्रिनको उज्यालो पछाडि लुकेको यो डिजिटल बालश्रम अझ गहिरो सामाजिक समस्या बन्न सक्ने संकेत देखिन थालेका छन्।




















प्रतिक्रिया