काठमाडौं । प्रधानमन्त्री बालेन शाहले निर्माण क्षेत्रका समस्या, यसको प्रवर्द्धन, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा आज निर्माण– व्यवसायीसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रका समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताए।
उनले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास आयोजनाहरू निर्धारित समयमै सम्पन्न गर्न सरकार, निजी क्षेत्र र सम्बन्धित सबै निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए। निर्माण क्षेत्रको विश्वसनीयता र कार्यक्षमता बढाउन नीतिगत तथा प्रशासनिक सुधारमा सरकार गम्भीर रहेको उनको भनाइ थियो।
छलफलका क्रममा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूले निर्माण क्षेत्रले लामो समयदेखि भोग्दै आएका समस्या प्रधानमन्त्रीसमक्ष राखेका थिए। उनीहरूले सम्पन्न कामको भुक्तानीमा हुने ढिलाइ, आयोजनाको म्याद थप, ठेक्का व्यवस्थापन, समयमै आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ सुविधा तथा लगानीसम्बन्धी चुनौतीका कारण निर्माण उद्योग प्रभावित भइरहेको बताएका थिए।
व्यवसायीहरूले निर्माण उद्योगलाई पुनः चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको धारणा पनि व्यक्त गरेका थिए।
प्रधानमन्त्री शाहले व्यवसायीहरूले उठाएका विषयमा सरकार गम्भीर रहेको उल्लेख गर्दै विकास निर्माणका काममा देखिएका अवरोध हटाउन सम्बन्धित निकायसँग आवश्यक समन्वय र नीतिगत सुधारका पहल अघि बढाइने विश्वास दिलाएका छन्।




















प्रतिक्रिया