काठमाडौं । आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जानकारी दिए ।
यसअघि अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै अस्थिर रहेको र जुनसुकै समयमा थप जटिलता आउन सक्ने जानकारी गराएको थियो ।
नेपालीको शरीरको ६० प्रतिशत भाग जलेको थियो । नेपालीको अनुहार, टाउको, घाँटी छाती जलेकाले अवस्था क्रिटिकल भएको डाक्टरले बताएका थिए । शरीरको भित्री अंगहरूमा पनि असर पुगेको उनीहरूको भनाइ थियो ।
उनलाई वीर अस्पतालको ‘बर्न आइसियु वार्ड’ मा भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको थियो । नेपालीको उपचारका लागि वीर अस्पतालले प्लास्टिक सर्जरी विभागका संयोजक डा. पीयूष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेष टोली परिचालन गरेको थियो । उक्त टोलीमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीहरू संलग्न थिए ।
नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । घटनालगत्तै उनलाई उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो ।




















प्रतिक्रिया