Logo

प्रमुख समाचार

गणेश नेपालीको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न सांसद राईको माग



काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले २५ वर्षीय युवाले आत्मदाह गर्नुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा सरकार गम्भीर हुनुपर्ने बताए । उनले उक्त घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘ २५ वर्षका एउटा युवाले आत्मदाह गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो सभामुख महोदय ? यस सम्बन्धी सरकार गम्भीर भएर लाग्नुपर्छ । र यो घटनालाई सरकारले गम्भीर ढंगले छानबिन गर्नुपर्छ ।’

राईले पठाओलगायत राइड–सेयरिङ सेवामा आबद्ध श्रमिकहरूको अवस्था पनि सदनमा उठाए । दिनभर मेहनत गरेर पाँच सयदेखि एक हजार रुपैयाँसम्म आम्दानी गर्ने श्रमिकलाई पटक–पटक जरिवाना गरिनु उचित नभएको उनको भनाइ थियो । ट्राफिक नियम कार्यान्वयनसँगै सडक पूर्वाधारको अवस्था सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले काठमाडौंका सडक र गल्लीहरूको वास्तविक अवस्था मन्त्रीहरूले स्वयं अवलोकन गर्नुपर्ने बताए ।

उनले भने, ‘ आज एउटा पठाओ राइडरले दिनमा कति कमाउँछ ? ५ सय, ७ सय, हजार ? अनि उनलाई हजार रुपैयाँको चाहिँ फाइन लाइदिछ, उसलाई पटक–पटक फाइन काट्यो भन्ने छ । र हामीले उनलाई कारबाही गराउँदाखेरि, ट्राफिक नियम हामीले चाहिँ कडाई गरिराख्दा खेरि आज हाम्रो बाटोघाटोको अवस्था के छ त ? म सरकारलाई आग्रह गर्न चाहन्छु, एकचोटी काठमाडौंको गल्ली–गल्ली र रिङरोड सबै सरकारका चाहिँ मन्त्रीहरु घुम्नको निम्ति म अनुरोध गर्न चाहन्छु ।’

उनले पर्याप्त पूर्वाधार निर्माण नगरी कानुनको कडाइ मात्र गरिनु उचित नहुने धारणा राखे । साथै, ग्रामीण क्षेत्रमा रोजगारी, शिक्षा र स्वास्थ्य सेवाको अभावका कारण युवाहरू अवसरको खोजीमा काठमाडौं आउन बाध्य भएको उल्लेख गर्दै यस्ता समस्याको दीर्घकालीन समाधानमा सरकार केन्द्रित हुनुपर्ने बताए ।

सांसद राईले गणेश नेपालीको घटनालाई एक व्यक्तिको मात्र नभई संघर्षरत हजारौं युवाको प्रतिनिधि घटनाका रूपमा व्याख्या गर्दै श्रमिकको आम्दानी र राज्यका उच्च पदाधिकारीहरूको खर्चबीचको असमानताप्रति पनि प्रश्न उठाए ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार १५:०५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।