धनगढी । सधैंझैं यस बर्षपनि सुदूरपश्चिममा रासायानिक मलको अभाव उच्च रह्यो । लामो सयम मल पाउने आशामा बसेका किसान अन्ततः मल विना नै रोपाई गर्न बाध्य भएका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर–३ का मनबहादुर चौधरी असार तेश्रो सातासम्म पनि रासायनिक मलको प्रतिक्षामा बसे । मलका लागि यहाँका हरेक सहकारी धाइरहे तर, कतैपनि मल पाइने अवस्था नभएपछि चौधरी मल बिनानै रोपाईमा व्यस्त भएका छन् ।
‘मलको प्रतिक्षामा रोपाईनै ढिलो हुन थाल्यो,’ चौधरीले भने, ‘अहिले रोपाई सुरु गरेको छु, मल पाएको छैन,’ मानबहादुका अनुसार धान रोपाईका लागि डिएपि मल आवश्यक पर्ने हुन्छ । तर यस पटक रोपाई सकिने समयसम्म पनि मल प्राप्त हुन नसकेको उनको दुःखेसो छ ।’
मानबहादुर जस्तै सुदूरपश्चिममा रासायनिक मलका लागि भौतारिने किसानको संख्या उच्च छ । कैलाली, कञ्चनपुरका धेरै किसानले यस पटक रासायनिक मल विनानै रोपाई गर्नुपरेको छ ।
सरकारी अनुदान प्राप्त रासायनिक मल विक्रेता कृषि सामाग्री केन्द्र लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीका अनुसार यस बर्ष गत बर्षको भन्दा न्यून रासायनिक मल उपलब्ध भएको छ । जसका कारण रोपाईमा मलको अभाव सिर्जना भएको हो ।
कृषि सामाग्री केन्द्र लिमिडेड सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रादेशिक प्रबन्धक नवलसिंह बोगटीले भने, ‘यस बर्ष विगतको भन्दा पनि कम मल आयात हुदा किसानले मल प्राप्त गर्न नसकेको यथार्थ हो, आउँदै नआएको भने हैन, अहिले पनि जेततेन वितरण भइरहेको छ।’
बोगटीका अनसार यस बर्ष फागुन देखि सुदूरपश्चिममा डिएपि मल आयात हुन सकेको छैन । ‘फागुन पछि डिएपि उपलब्ध भएको छैन,’ बोगटीले भने, ‘भएको मौज्दाद डिएपि थोरै–थोरै गरेर सहकारीलाई वितरण वितरण गरिरहेका छौं, तर त्यो प्रयाप्त हुन सकेको छैन ।’
प्रादेशिक प्रबन्धक बोगटीका अनुसार गत बर्षको साउन देखि फागुन सम्म सुदूरपश्चिम प्रदेशमा १५ हजार ३ सय २७ मेट युरिया, ८ हजार ३ सय ८० मेट्रिकटन डिएपि र ८ सय १६ मेट्रिकटन पोटास विक्रि वितरण गरिएको थियो ।
हाल ३ सय ३० मेट्रिकटन युरिया, ३ सय ६ मेट्रिकटन डिएपि र १ सय २९ मेट्रिकटन युरिया मौज्दाद रहेको छ । विक्रि भएको डिएपि र युरिया मध्ये अधिकांश हिउँदे वालीका लागि प्रयोग भइसहेका कारण धानका लागि अपुग भएको उनले बताए ।
सुदूरपश्चिममा धान खेतिका लागि मात्रै कम्तिमा ८ हजार हजार मेट्रिकटन डिएपि आवश्यक पर्ने गर्दछ । यस बर्ष अमेरिका र इरानविच भएको युद्धका कारण पनि समयमै रासायनिक मल आयात हुन समस्या सिर्जना भएको उनको भनाई छ ।
त्यसैगरी साल्ट ट्रेडिङ पर्कोरेसन सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख तेजबहादुर कुँवरले पनि यस बर्ष रासायनिक मल अभाव अझै बढी रहेको बताए । कुँवरले पनि अमेरिका–इरान युद्धेको प्रभावका कारण यस पटक रासायनिक मल अभाव हुने अवस्था आएको बताए ।
‘आउँदै नआएको भन्ने पनि हैन,’ उनले भने, ‘तर तुलनात्मक रुपमा केही कम मल आएको छ, यसले कृषकलाई धान रोपाईका वेला समस्या भएको छ ।’
कुँवरका अनुसार गत साउन देखि हाल सम्म ५ हजार ७१ दशमलव ६० मेट्रिकटन युरिया, ५ हजार ७ सय
८१ मेट्रिकटन डिएपि र २ सय ६४ मेट्रिकटन पोटास भित्रिएको छ । त्यसमध्ये असार २६ गते सम्म ५ हजार ६१ दशमलव २० मेट्रिकटन युरिया, ५ हजार ६ सय ९० दशमलव २० प्रतिशत डिएपि र ५ सय ४ दशमलव १० मेट्रिकटन पोटास विक्रि भइसकेको कुवरको भनाई छ ।
उनका अनुसार हाल साल्ट ट्रडिङ कर्पोरेसन लिमिटेडसंग ५८ दशमलव ८५ मेट्रिकटन यूरिया, ९१ दशमलव ७० मेट्रिकटन डिएपि मौज्दाद रहेको छ । बाटोको अवरोध र ढुवानीमा भएको समस्याका कारण पनि यस पटक डिएपि मल अभाव भएको उनले बताए ।
हाल भैरहवामा रहेको पुरानो स्टकबाट ५ सय मेट्रिटन थप मल उपलब्ध भएको र सो मल सहकारी मार्फत कृषकलाई वितरण गर्ने कार्य भइरहेको उनले बताए ।
यूरिया मलको अभाव नहुने दावि
सुदूरपश्चिममा यस बर्ष धान रोप्दा डिएपि मलको अभाव झेलेका कृषकले यूरिया मल सहजै पाइने दावि गरिएको छ । सामान्य तया धान रोपेको २५ देखि एक महिना भित्र कृषकले धानमा यूरिया मल छर्ने गर्दछन् ।
जस अनुसार अवको एक साता पछि यहाँका कृषकलाई यूरिया मलद आवश्यक पर्ने छ । सो समय सम्म यूरिया मलको मल भित्रिसक्ने मल वितरक संस्थाले जनाएका छन् ।
कृषि समाग्री केन्द्र लिमिटेड सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रबन्धक नवलसिंह बोगटीले साउन २–३ गते भित्र सुदूरपश्चिममा यूरिया पुग्ने जानकारी आफूले पाएको बताए ।
‘३ सय ३० मेट्रिकटन यूरिया अहिले पनि हामीसंग मौज्दात रहेको छ,’ बोगटीले भने, ‘धेरै किसानले डिएपिसंगै यूरिया मल लगिपनि सकेका छन्,’ आगामी साउन २–३ गते थप युरिया मल यहाँ पुग्ने जानकारी प्राप्त भएको छ, त्यसैले डिएपि जस्तो अभाव यूरियामा हुने छैन ।’
साल्ट ट्रेडिङ पर्कोरेसन सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख तेजबहादुर कुँवरले पनि यूरियामा डिएपि जस्तो अभाव नहुने बताएका छन् । धेरै कृषकले यस अघिनै धानका लागि चाहिने यूरिया मल लगेर भण्डारण गरिसकेका कारण पनि समस्या नहुने उनको दावि छ ।




















प्रतिक्रिया