काठमाडौं । वैदेशिक रोजगार विभागले अनुमति नलिई भारतीय विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने १५९ वटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ। विभागले ती कम्पनीहरूलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ विपरित कार्य गरेको ठहर गर्दै पहिलो पटक सचेत गराउने कारबाही गरेको हो ।
विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ विपरीत कार्य गरेको ठहर गर्दै ती कम्पनीलाई पहिलो पटक सचेत गराएको जनाएको छ। विभागले २०८२ चैतदेखि २०८३ जेठ मसान्तसम्म विदेश गएका श्रमिकको उडान विवरण अध्ययन गर्दा सञ्चालनमा रहेका एक हजार ११७ इजाजतप्राप्त म्यानपावरमध्ये ६७८ वटाले मात्रै विवरण बुझाएको पाइएको थियो। तीमध्ये १५९ कम्पनीले विभागको पूर्वस्वीकृतिबिनै भारतीय विमानस्थल प्रयोग गरी श्रमिक पठाएको भेटिएको हो।
यस्तै, विभागले मागेको विवरण नबुझाउने ४३९ म्यानपावर कम्पनीलाई पनि पहिलो पटक सचेत गराउँदै पुनः विवरण पेश गर्न निर्देशन दिएको छ। साथै, पटक–पटक कानुन तथा विभागीय निर्देशन उल्लंघन गर्ने आठ कम्पनीलाई जनही ५० हजार रुपैयाँका दरले जरिबाना गरिएको छ। तीमध्ये तीन कम्पनीले पुनः भारतीय विमानस्थलबाट श्रमिक पठाएका थिए भने पाँच कम्पनीले मागिएको विवरण उपलब्ध नगराएको विभागले जनाएको छ।
विभागले वैदेशिक रोजगार व्यवसायीलाई कानुन तथा विभागीय निर्देशनको पूर्ण पालना गर्न आग्रह गर्दै भविष्यमा यस्ता गतिविधि दोहोरिए थप कडा कारबाही गरिने चेतावनी दिएको छ।




















प्रतिक्रिया