Logo

प्रमुख समाचार

मिडिया कार्यालयअगाडि शंकास्पद गतिविधिपछि रास्वपाको विज्ञप्ति, ‘प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप स्वीकार्य छैन’



काठमाडौं । विभिन्न सञ्चारमाध्यमका कार्यालयबाहिर शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीले प्रेस स्वतन्त्रतामाथि आघात पुग्ने वा सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाबमा पार्ने कुनै पनि गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने भन्दै त्यसको विरोध गरेको छ।

सोमबार महासचिव विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा सञ्चारमाध्यम राज्यको चौथो अंग भएको उल्लेख गर्दै पत्रकार र सञ्चार संस्थाले निर्भीक रूपमा काम गर्न पाउने वातावरणमा कुनै पनि प्रकारको अवरोध स्वीकार्य नहुने स्पष्ट पारिएको छ।

रास्वपाले सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने तथा चौथो अंगलाई प्रभावित पार्ने उद्देश्यका गतिविधि पार्टीलाई कुनै पनि हालतमा स्वीकार्य नभएको जनाएको छ।

पार्टीले घटनाको तत्काल निष्पक्ष र सत्यतथ्य छानबिन गरी दोषी जोसुकै भए पनि कानुनबमोजिम कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायसँग माग गरेको छ। साथै सञ्चारकर्मीको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न पनि आग्रह गरेको छ।

विज्ञप्तिको अन्त्यमा रास्वपाले कुनै पनि दबाब वा त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारिता गर्न सम्पूर्ण सञ्चारजगतलाई आग्रह गर्दै स्वतन्त्र पत्रकारिता, सञ्चारकर्मीको सुरक्षा र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा पार्टी सधैं दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्‍याएको छ।

 

प्रकाशित मिति : २९ असार २०८३, सोमबार २०:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।