काठमाडौं । अविरल वर्षापछि आएको पहिरो, बाढी र प्रतिकूल मौसमका कारण देशका विभिन्न प्रमुख राजमार्ग प्रभावित भएका छन्।
सोमबार राति ८:२० बजेसम्मको सडक अवस्थाअनुसार सात प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने दुई सडकखण्ड एकतर्फी सञ्चालनमा रहेका छन्।
प्राप्त विवरणअनुसार नागढुंगा–धादिङ सडकखण्ड, रोशी खोलाका कारण काठमाडौं–काभ्रे–सिन्धुली सडक, काठमाडौं–कुलेखानी–हेटौँडा सडक, ललितपुर–टिकाभैरव–हेटौँडा सडक, तुइन खोलाका कारण मुग्लिङ–नारायणगढ सडक, इलाम–पाँचथर–ताप्लेजुङ सडक तथा प्रतिकूल मौसमका कारण लमजुङ–मनाङ सडक पूर्ण रूपमा बन्द छन्।
यस्तै, बेनी–मुस्ताङ तथा काठमाडौं–सिन्धुपाल्चोक–दोलखा सडकखण्ड भने एकतर्फी रूपमा सञ्चालनमा छन्।
यसैबीच मुग्लिङ–पोखरा–बागलुङ, हेटौँडा–पथलैया–जनकपुर, पथलैया–सिमरा–वीरगञ्ज, बर्दिबास–कोशी ब्यारेज–इटहरी, इटहरी–दमक–काकडभित्ता, नेपालगञ्ज–कोहलपुर–सुर्खेत तथा बुटवल–नेपालगञ्ज–धनगढी सडकखण्ड भने सञ्चालनमा रहेको जनाइएको छ।
सुरक्षा निकायले अत्यावश्यक कामबाहेक अनावश्यक यात्रा नगर्न र यात्रा गर्नै परे सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
सडक अवस्थाबारे जानकारी वा सहायता आवश्यक परे १२३४, १०३ र १०० नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।




















प्रतिक्रिया