काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले सरकारको सुरुवाती १०० दिन सुशासनका दृष्टिले सकारात्मक रहेको बताएका छन् ।
संसद् बैठक आगामी १४ साउनसम्मका लागि स्थगित भएको सन्दर्भमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद खरेलले यस्तो बताएका हुन् ।
बजेट पारित भई कानुन निर्माणका प्रक्रियाहरू अघि बढिरहेको अवस्थामा सदन १४ दिनका लागि स्थगित हुनुलाई उनले सकारात्मक रूपमा लिएका छन्।
यस अवधिलाई सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रमा जनताको घरदैलोमा पुग्ने र जनचासोका विषयहरू बुझ्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने उनको भनाइ छ। सरकारको १०० दिने कार्यकालको समीक्षा गर्दै उनले छोटो अवधिमै ठुलो परिवर्तनको अपेक्षा गर्नु व्यावहारिक नहुने तर्क गरे।
सरकारको गति सुस्त भएको र अपेक्षित परिणाम नआएको जनगुनासोका सम्बन्धमा टिप्पणी गर्दै सांसद खरेलले जनताको धैर्यता र सुझावलाई आफूले सम्मान गर्ने बताए।
कतिपय त्रुटि र कमजोरीहरूलाई सुधार गर्दै सुशासनको यात्रालाई थप प्रभावकारी बनाउन सरकारलाई रचनात्मक दबाब दिने उनको प्रतिबद्धता छ।




















प्रतिक्रिया