झापा। झापाको अर्जुनधाराबाट सशस्त्र प्रहरीले भारतबाट भन्सार छली ल्याउँदै गरेको ३२ बोरा चिनी र ढुवानीमा प्रयोग गरिएका सवारीसाधन आइतबार नियन्त्रणमा लिएको छ।
अर्जुनधारा नगरपालिका ११ कालीझोडास्थित सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस शनिश्चरेबाट खटिएको टोलीले उक्त अवैध सामग्री बरामद गरेको हो।
सशस्त्र प्रहरी बल, नेपाल नं २ गण झापाका निमित्त गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीका अनुसार बरामद गरिएको चिनी एक लाख १२ हजार बराबर छ। उनका अनुसार प्र१-०१-००१च ४०३८ नम्बरको पिकअप गाडी र मे १० प ५७४५ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ।
बरामद गरिएका सवारीसाधन तथा चिनीलाई आवश्यक कारबाहीका लागि आज भन्सार कार्यालय काँकरभिट्टामा दाखिला गरिएको निमित्त गणपति रसाइलीले जानकारी दिए।
साथै, सीमा क्षेत्रमा हुने अवैध चोरीनिकासी तथा पैठारीजन्य गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल, नेपालको सक्रियता र निगरानी निरन्तर जारी रहने उनले बताए।




















प्रतिक्रिया