Logo

राजनीति

सर्वदलीय बैठकमा प्रधानमन्त्री नगएपछि गगन थापाको प्रश्न– यस्तो बेला पनि ठालु भएर बस्ने हो?



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको तनावपूर्ण अवस्थाबीच पनि प्रधानमन्त्री निष्क्रिय बनेर बसेको भन्दै प्रश्न उठाएका छन्।

सत्तारूढ रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा धारणा राख्दै सभापति थापाले सुनसरी घटनापछिको अवस्थामा पनि प्रधानमन्त्रीले सबैलाई जोड्ने प्रयास नगरेको बताएका हुन् ।

उनले रास्वपा सभापति रविलाई भने सर्वदलीय बैठक राखेकोमा धन्यवाद दिएका छन् ।

थापाले भने, ‘यतिखेर सरकार के गर्दैछ, सरकार कहाँ छ ? सरकार स्ट्याटसमा सीमित छ । सरकारले अरुलाई विश्वास गर्नुपर्छ ।’

‘यतिखेर त प्रधानमन्त्रीले तत्कालै सर्वदलीय बैठक बेलाउने, राष्ट्रपति भेट्ने र प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरेर साझा प्रयास गर्नु पर्ने हो,’ उनले भने, ‘विगतका विपत्तिमा पनि राजनीतिक दलहरु तिक्तता त्यागेर एक भएका थिए ।’

उनले यसलाई राज्यको असफलताको परिणाम भएको बताए । सुनसरी घटनालाई कांग्रेसले आन्तरिक हिसाबले छानबिन गर्ने तर सरकारलाई अप्ठेरोमा नपार्ने उनले बताए । ‘यस्तो संवेदनशील अवस्थामा पनि प्रधानमन्त्रीले भाउ खाएर बस्ने हो? ठालु भएर बस्ने हो?’ उनले भने, ‘यतिबेला सबैलाई जोड्ने प्रयास गर्नुपर्छ। प्रधानमन्त्रीले नै सबै राजनीतिक दल, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी समस्या समाधान गर्नुपर्नेमा त्यो भएको देखिएन ।’

सभापति लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङ उपस्थित भएनन् । यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पनि बैठकमा गएका छैनन् ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार ११:०१   :  बजे

180
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।