Logo

अर्थ

अवैध रुपमा टाटाका पार्टपूर्जा तथा लुब्रिकेन्ट्स बिक्री गर्ने राजकुमार पोते पक्राउ



काठमाडौं । काभ्रेपलाञ्चोक प्रहरीले अवैध रुपमा टाटा गाडीका नक्कली पार्टपूर्जा तथा लुब्रिकेन्ट्स आयात गरी बिक्री–वितरण गरेको आशंकामा बनेपाका राजकुमार पोतेलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको टोलीले बनेपास्थित नेष्ट जेनेरेशन अटोमोटिभ प्रालिका सञ्चालक पोतेको पसल तथा गोदाममा छापा मारेको हो। छापाका क्रममा प्रहरीले करोडौँ रुपैयाँ मूल्य बराबरका अवैध रूपमा आयात गरिएका भनिएका नक्कली पार्टपूर्जा बरामद गरेको जनाएको छ ।

प्रहरीले पोतेको पसलसहित १० वटा गोदाममा सिलबन्दी गरेको छ । उनी यसअघि पनि राजस्व छलीसम्बन्धी घटनामा पक्राउ परी कारबाहीमा परेको प्रहरीको दाबी छ ।

नक्कली तथा अवैध पार्टपूर्जाको प्रयोगले सवारीसाधनको सुरक्षामा जोखिम बढाउनुका साथै दुर्घटनाको सम्भावना बढ्न सक्ने र त्यसबाट जनधनको क्षति हुन सक्ने प्रहरीको भनाइ छ । यस्ता कारोबारबाट राज्यले प्राप्त गर्ने राजस्वमा समेत असर पर्ने बताइएको छ ।

अवैध कारोबारका कारण वैधानिक रूपमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीसमेत प्रभावित भएको भन्दै प्रहरीले यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा व्यवसायीमाथि देशभर निगरानी र कारबाहीलाई थप तीव्र बनाउने जनाएको छ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार १२:१२   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।