Logo

अर्थ

नाइमा मोबिलिटी एक्स्पोमा नेपालमै बनेको हुन्डाई ‘अल न्यू भेन्यू’



काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा नेपालमै एसेम्बल गरिएको हुन्डाईको ‘अल न्यू भेन्यू’ आकर्षणको केन्द्र बनेको छ।

हुन्डाईको स्टलमा प्रदर्शनमा राखिएको नयाँ भेन्यूले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आफ्नो उपस्थिति बलियो बनाउने अपेक्षा गरिएको छ। नेपालमा हुन्डाईका गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलको भगिनी कम्पनी लक्ष्मी मोटर कर्पोरेसनले भेन्यूलाई नेपालमै एसेम्बल गर्दै आएको छ।

प्रदर्शनीमा राखिएको अल न्यू भेन्यूको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ रहेको जनाइएको छ। नयाँ पुस्ताको भेन्यूमा डिजाइनसँगै प्रविधि, सुरक्षा र आरामलाई प्राथमिकता दिइएको छ।

स्थानीय रूपमा एसेम्बल हुने भेन्यू नेपालमा उत्पादन सुरु भएको पहिलो हुन्डाई मोडल हो। लक्ष्मी मोटर कर्पोरेसनले २०२४ देखि नेपालमै भेन्यू एसेम्बली सुरु गरेको हो। कम्पनीले नवलपरासीमा रहेको प्लान्टबाट वार्षिक करिब ५ हजार गाडी एसेम्बल गर्न सक्ने क्षमता रहेको जनाएको छ।

नेपालमै एसेम्बल भएका हुन्डाई भेन्यूका विभिन्न भेरियन्ट यसअघि नै नेपाली बजारमा बिक्री हुँदै आएका छन्। कम्पनीका अनुसार स्थानीय एसेम्बलीबाट गाडीको उपलब्धता बढाउनुका साथै नेपालमा अटोमोबाइल उत्पादन तथा एसेम्बली उद्योगको विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

यसैबीच, नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चारपांग्रे, दुईपांग्रे तथा व्यावसायिक सवारीसाधनका विभिन्न ब्रान्ड सहभागी छन्। एक्स्पोमा नयाँ सवारीसाधन सार्वजनिक तथा प्रदर्शनसँगै विद्युतीय तथा हाइब्रिड मोबिलिटी, प्रविधि र भविष्यको यातायात प्रणालीबारे जानकारी दिने कार्यक्रमसमेत राखिएको छ।

नाइमा एक्स्पोमा नयाँ मोडल र प्रविधि हेर्न तथा नेपाली बजारमा उपलब्ध सवारीसाधनबारे जानकारी लिन उपभोक्ताको आकर्षण बढेको आयोजकले जनाएको छ। नेपालमा उत्पादन तथा एसेम्बलीको सम्भावना बढिरहेका बेला नेपालमै बनेको हुन्डाई भेन्यूको प्रदर्शनलाई अटोमोबाइल उद्योगमा स्थानीय उत्पादनतर्फको अर्को कदमका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलवार १६:२१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।