काठमाडौं । टाटा मोटर्सले नेपाली बजारमा आफ्नो लोकप्रिय विद्युतीय एसयूभी ‘पन्च ईभी’को फेसलिफ्ट संस्करण सार्वजनिक गरेको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले राजधानीमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पोमार्फत नयाँ पन्च ईभीको बिक्री सुरु गरेको हो।
नयाँ पन्च ईभीलाई कम्पनीले अघिल्लो संस्करणको तुलनामा ठूलो ब्याट्री, सुधारिएको बाहिरी डिजाइन र थप सुविधासहित बजारमा ल्याएको छ। नाइमा एक्स्पोका लागि कम्पनीले यसको सुरुवाती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकेको छ।
नयाँ मोडलमा ३० किलोवाट आवर र ४० किलोवाट आवर क्षमताका दुई ब्याट्री विकल्प दिइएको छ। दुवै ब्याट्री अघिल्लो पन्च ईभीमा प्रयोग भएको ब्याट्रीभन्दा ५ किलोवाट आवर ठूलो क्षमता भएका छन्। ब्याट्री क्षमता बढेसँगै गाडीको ड्राइभिङ रेन्ज पनि सुधारिएको कम्पनीको दाबी छ।
१५ मिनेट चार्जमा १३५ किलोमिटर
नयाँ पन्च ईभीको प्रमुख आकर्षणमध्ये फास्ट चार्जिङ क्षमता पनि हो। कम्पनीका अनुसार ६५ किलोवाट क्षमताको डीसी फास्ट चार्जर प्रयोग गर्दा ब्याट्रीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब २६ मिनेट लाग्छ।
त्यस्तै, १५ मिनेट चार्ज गर्दा करिब १३५ किलोमिटरसम्म चलाउन पुग्ने ऊर्जा प्राप्त हुने कम्पनीको दाबी छ।
विद्युतीय सवारी प्रयोगकर्ताका लागि चार्जिङ समय महत्वपूर्ण विषय बन्दै गइरहेका बेला पन्च ईभीमा गरिएको यो सुधारले छोटो समयमा लामो दूरी तय गर्न चाहने ग्राहकलाई लक्षित गरेको देखिन्छ।
बाहिरी डिजाइनमा पनि परिवर्तन
फेसलिफ्ट संस्करणमा पन्च ईभीको बाहिरी स्वरूपमा पनि केही परिवर्तन गरिएको छ। नयाँ मोडलमा १६ इन्चका एरो–अप्टिमाइज्ड एलोय ह्वील प्रयोग गरिएको छ। हावाको प्रतिरोध कम गर्ने डिजाइनका कारण यसले गाडीको समग्र दक्षतामा पनि सहयोग गर्ने अपेक्षा गरिएको छ।
पछाडिको भागमा नयाँ डिजाइनका एलईडी टेललाइट राखिएका छन्। यसले पुरानो पन्च ईभीको तुलनामा नयाँ मोडललाई केही फरक लुक दिएको छ।
भित्री भागमा भने अघिल्लो संस्करणकै ड्यासबोर्ड डिजाइनलाई निरन्तरता दिइएको छ। यद्यपि नयाँ ट्रिम र डुअल–टोन कलर थिम थप गरिएको छ।
गाडीमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम तथा १०.२५ इन्चकै डिजिटल ड्राइभर डिस्प्ले दिइएको छ।
सुविधा र सुरक्षामा पनि जोड
नयाँ पन्च ईभीमा वायरलेस चार्जिङ, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइट, कनेक्टेड कार टेक्नोलोजी र ३६० डिग्री क्यामेरालगायत सुविधा छन्।
सुरक्षाका लागि ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), हिल होल्ड असिस्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम र आईएसओफिक्स चाइल्ड सिट माउन्ट उपलब्ध गराइएको छ।
यसअघि नेपाली बजारमा बिक्री हुँदै आएको पन्च ईभीको मूल्य ३७ लाख ९९ हजारदेखि ३९ लाख ९९ हजार रुपैयाँसम्म थियो। नयाँ फेसलिफ्ट संस्करणमा दिइएको इन्ट्रडक्टरी अफरका कारण सुरुवाती मूल्य अघिल्लो संस्करणको तुलनामा करिब चार लाख रुपैयाँसम्म कम भएको छ।
सिप्रदी ट्रेडिङका अनुसार भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा ग्राहकले नयाँ पन्च ईभी प्रत्यक्ष अवलोकन गर्न तथा यसको मूल्य, सुविधा र अन्य प्राविधिक पक्षबारे जानकारी लिन सक्नेछन्। एक्स्पो ३१ गतेसम्म सञ्चालन हुनेछ।















प्रतिक्रिया