काठमाडाैं । नागरिक लगानी कोषका सहभागी, शेयरधनी तथा कर्मचारीहरूलाई चितवनको भरतपुरस्थित मनकामना अस्पताल प्रालिले स्वास्थ्य सेवामा विशेष छुट दिने भएको छ ।
कोष र अस्पतालबीच भएको द्विपक्षीय सम्झौताअनुसार अब कोषसँग आवद्ध व्यक्तिहरूले विभिन्न उपचार सेवामा सहुलियत पाउनेछन् । सम्झौता पत्रमा नागरिक लगानी कोषका तर्फबाट निर्देशक हेमन्त पोखरेल र मनकामना अस्पतालका तर्फबाट बजार प्रमुख उमाकान्त बरालले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूले अस्पतालले प्रदान गर्ने सामान्य स्वास्थ्य सेवाहरूमा २० प्रतिशत छुट पाउनेछन् । यसका अतिरिक्त सिटी स्क्यानमा १० प्रतिशत, अपरेशन (शल्यक्रिया) मा १० प्रतिशत छुट र औषधि खरिदमा ५ प्रतिशत छुट दिइनेछ ।
यो सुविधा लिनका लागि कोषका सहभागी, शेयरधनी वा कर्मचारीले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात पेस गर्नुपर्नेछ । जसका लागि परिचयपत्र, कोषमा आबद्ध भएको प्रमाणपत्र वा अन्य पहिचान खुल्ने कागजात अस्पतालको प्रशासनमा देखाउनुपर्ने व्यवस्था गरिएको छ ।
यस सम्झौताले नागरिक लगानी कोषमा आबद्ध देशभरका ठुलो संख्याका सहभागीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहुलियत दरमा पहुँच पुर्याउने विश्वास लिइएको छ ।















प्रतिक्रिया