Logo

अर्थ

१ खर्ब कर्जा पुग्ने पहिलो विकास बैंक बन्यो मुक्तिनाथ, लाभांश क्षमता कति ?



काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ खर्बभन्दा बढी कर्जा प्रवाह गरेको छ । यससँगै मुक्तिनाथ विकास बैंक १ खर्ब बढी कर्जा प्रवाह गर्ने पहिलाे विकास बैंक बनेकाे छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ९७ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको यस बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ खर्ब ५० करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। समीक्षा अवधिमा कम्पनीको कर्जा ३.३८ प्रतिशत बढेको हो । बैंकको निक्षेप भने समीक्षा अवधिमा ५.२० प्रतिशत बढेर १ खर्ब २३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।

गत आवमा बैंकले १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा १२.४४ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ३५ करोड ३ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.६३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १.५० प्रतिशत घटेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३.८९ प्रतिशत र सञ्चालन मुनाफा २०.२३ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ७९ करोड ३५ लाख रुपैयाँबाट घटेर ५७ करोड २३ लाख रुपैयाँमा झरेको छ ।

गत असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६७ करोड ५७ लाख रुपैयाँ रहको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४५ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १८ पैसा घटेर १८ रुपैयाँ ९८ पैसामा सीमित भएको छ । त्यसैगरी, असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १९.१३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ८२ पैसा रहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार १२:४०   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।