Logo

राजनीति

विप्लवले दिए प्रधानमन्त्री ओलीलाई धन्यवाद



निर्वाचन आयोगमा दर्ता नभएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले दर्ता भएको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । उनले आफ्नो पार्टीलाई प्रतिबन्ध लगाएको भन्दै प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीलाई धन्यवाद दिएका हुन् ।

‘प्रतिबन्धले जनतासँग सहकार्य गर्न र नजिक बसेर सेवा गर्ने अवसर प्रदान गरेको हो, ’सोमबार एकता दिवस पारेर पार्टीको मुखपत्र अनलाइन पत्रिका इरातोखबरलाई दुई घन्टाभन्दा लामो अन्तवार्ता दिदै विप्लवले भने, ‘यसका लागि केपी ओलीजी र यो सरकारलाई धन्यवाद ।’ उनले प्रतिबन्धले अवसर प्रदान गरेको र जनतासामु नजिक पुर्याएको बताए ।

‘प्रतिबन्धलाई अवसर र चुनौती अथवा खुशीको कुरा पनि बनेको छ,’ विप्लवले भने । उनले आफूहरुले जनताको पक्षमा काम गरेको र भ्रष्टाचारको विरोध गरेकाले प्रतिबन्ध लगाउने कार्य भएको बताए । उनले आफूहरु देश र जनताको पक्षमा उभिएको दाबी गरे ।

कम्युनिस्ट सरकार भएकै समयमा अर्को कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लागेको प्रश्नमा उनले रुसमा पनि बोल्सेभिक र मिल्सेभिकबीच त्यस्तै अवस्था रहेको उदाहरण दिए । उनले आफूहरु शोषित पीडित जनताको पक्षमा रहेको र ओली सरकार पूँजीवादीहरुको पृष्ठपोषक रहेको आरोप लगाए ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको भन्दै विप्लवले नयाँ संविधान निर्माण र नयाँ राज्य प्रणाली स्थापित गर्न लागिपरेको बताए । उनले सरकारले कोरोना भाइरसको त्रासदीमा जनता पीडित हुँदा धन कुम्ल्याउनेहरुको हितमा काम गरिरहेको आरोप लगाए ।

प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार  १ : २० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।