Logo

अर्थ

सिद्धार्थ बैंक र आईएफसीबीच साना तथा मझौला उद्यमका लागि ४ करोड डलरको सम्झौता



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बीच ४ करोड अमेरिकी डलर बराबरको जोखिम साझेदारी सम्झौता भएको छ।

लघु, साना तथा मझौला उद्यम (एमएसएमई) मा कर्जा विस्तार गर्ने उद्देश्यले ‘स्मल लोन ग्यारेन्टी प्रोग्राम’ अन्तर्गत यो सम्झौता भएको हो।

सम्झौता अनुसार सिद्धार्थ बैंकले साना तथा मझौला उद्योगमा प्रवाह गर्ने कर्जामा निहित ५० प्रतिशत जोखिम आईएफसीले बहन गर्नेछ। नेपालमै पहिलोपटक भएको यस प्रकारको व्यवस्थाले चुनौतीपूर्ण आर्थिक अवस्थामा रहेका साना व्यवसायीहरूलाई कर्जा दिन बैंकको क्षमता सुदृढ हुने बताइएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले यस साझेदारीबाट पछाडि परेका क्षेत्रमा कर्जा प्रवाह बढ्ने, उद्यमशीलता र रोजगारी सिर्जना हुने तथा समग्र आर्थिक वृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

सिद्धार्थ बैंक र आईएफसीबीच सन् २०१४ देखि नै व्यावसायिक सम्बन्ध रहँदै आएको छ। यसअघि सन् २०२३ मा पनि बैंकले आईएफसीबाट ५ करोड ५० लाख डलर बराबरको नेपालकै पहिलो विदेशी मुद्राको सिन्डिकेटेड कर्जा लिएको थियो।

आगामी दिनमा पनि जोखिम व्यवस्थापन, डिजिटल र जलवायु वित्त लगायतका क्षेत्रमा सहकार्य निरन्तर रहने बैंकले जनाएको छ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार ११:००   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।