काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष दसैंका लागि छुट्टै नयाँ नोट वितरण कार्यक्रम सञ्चालन नगर्ने भएको छ। राष्ट्र बैंकले नियमित कार्यालय समयमै बजारको मागअनुसार नयाँ तथा सुकिला नोट सटहीको व्यवस्था मिलाउने जनाएको छ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार बैंकसँग पर्याप्त नोट मौज्दात रहेकाले मागअनुसार सटही सुविधा उपलब्ध गराइनेछ। नयाँ नोटले माग धान्न नसकेको अवस्थामा सुकिला नोटसमेत उपलब्ध गराइने उनले बताए।
राष्ट्र बैंकका बैंकिङ काउन्टरबाट कार्यालय समयमै नोट सटही गर्न सकिनेछ। यस्तै, बैंक तथा वित्तीय संस्थाले पनि राष्ट्र बैंकबाट नयाँ तथा खुद्रा नोट लगिसकेकाले आफ्ना ग्राहकलाई वितरण गरिरहेका छन्।
हाल राष्ट्र बैंकबाट एक व्यक्तिले दुई बन्डलसम्म नोट सटही गर्न पाउने व्यवस्था छ। एक बन्डलमा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका एक–एक सय थान नोट हुन्छन्।
दाहालका अनुसार व्यक्तिगत प्रयोजनका लागि नयाँ नोट उपलब्ध गराइने छैन। व्यापारिक प्रयोजनका लागि भने नयाँ तथा सुकिला नोट सटहीको व्यवस्था गरिएको छ।



















प्रतिक्रिया