काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले सेयरधनीलाई १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको २०औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो।
सिटिजन्स क्यापिटलको रजिस्टर्ड कार्यालय डिल्लीबजारस्थित बाटुलेघरमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि पारित गरेको छ।
सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत अनुमोदन गरेको छ। यस्तै, कम्पनीको नियमावलीअनुसार भएको सञ्चालक नियुक्तिलाई पनि सभाले अनुमोदन गरेको छ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएर सामूहिक लगानी कोष व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूति, सेयर रजिस्ट्रार तथा डिम्याट खातासम्बन्धी सेवा दिँदै आएको छ।
कम्पनीमा कर्मचारी सञ्चय कोषसहित विभिन्न उद्योगी तथा व्यवसायीको लगानी रहेको छ। कम्पनीको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा सविर बादे श्रेष्ठ छन्।
काठमाडौं उपत्यकाबाहिरका लगानीकर्तालाई पुँजी बजारमा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले कम्पनीले सिटिजन्स बैंकका देशभरका शाखामार्फत विभिन्न सेवा प्रदान गर्दै आएको जनाएको छ।
कम्पनीले देशका विभिन्न भूभागमा रहेका लगानीकर्तालाई पुँजी बजार तथा व्यवस्थित लगानी सेवामा पहुँच विस्तार गर्नुका साथै दीर्घकालीन र अनुशासित लगानी संस्कार विकासमा योगदान पुर्याउने लक्ष्य लिएको जनाएको छ।




















प्रतिक्रिया