काठमाडौँ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा वाणिज्य बैंकहरूले १७ अर्ब ८१ करोड रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार यो गत वर्षको सोही अवधिको तुलनामा ७.३३ प्रतिशतले बढी हो ।
गत वर्ष यही अवधिमा बैंकहरूले १६ अर्ब ५९ करोड रुपैयाँ नाफा कमाएका थिए । यस वर्ष २० वाणिज्य बैंकमध्ये १३ वटाको नाफा बढेको छ भने सात वटाको घटेको छ ।
समग्रमा नाफा आर्जन गर्ने बैंकहरुमध्ये नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ । सो बैंकले १ अर्ब ८० करोड रुपैयाँ नाफा कमाउँदा ग्लोबल आइएमई बैंक १ अर्ब ६९ करोड रुपैयाँ सहित दोस्रो स्थानमा रहेको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्राइम कमर्शियल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनएमबि बैंक, सानिमा बैंक र कुमारी बैंकको नाफा एक अर्बभन्दा माथि हुँदा अन्य बैङ्कहरूले एक अर्बभन्दा कम नाफा कमाएका छन् । सबैभन्दा कम कमाउने नेपाल एसबीआई बैंकको नाफा ४१ करोड रुपैयाँ रहेकाे छ ।
नाफा बढाउने बैंकमा हिमालयन बैंक रहेको छ । गत वर्षको भदौमा ३७ करोड रहेको यस बैंकको नाफा यस वर्ष ५५.१३ प्रतिशतले बढेर ५७ करोड पुगेको छ ।
सानिमा बैंकले पनि आफ्नो नाफामा ४२.१५ प्रतिशतको वृद्धि गरेको छ । गत वर्षको दुई महिनामा ७२ करोड रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष नाफा बढाएर १ अर्ब २ करोड पुर्याएको छ ।
नाफा रकमको आधारमा शीर्ष स्थानमा रहेको नबिल बैंकले नाफा वृद्धिको आधारमा भने गत वर्षको १३२७ को तुलनामा ३५.८३ प्रतिशतले नाफा बढाएको छ ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले २५.३१ प्रतिशत, नेपाल एसबीआईले १७.३३ प्रतिशत, प्रभु बैंकले १०.१३ प्रतिशत, प्राइम बैंकले ८.९९ प्रतिशत, माछापुच्छ्रे बैंकले ८.१७ प्रतिशत र एभरेष्ट बैंकले ७.८८ प्रतिशतले नाफा वृद्धि गरेका छन् । रकमका आधारमा दोस्रो धेरै नाफा कमाएको ग्लोबल आइएमई बैंकको वृद्धिदर भने ४.०७ प्रतिशत रहेको छ ।
केही बैंकहरुको नाफा भने सामान्य मात्र बढेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ०.९१ प्रतिशत, एनआईसी एसियाको ०.७९ प्रतिशत र एनएमबी बैंकको जम्मा ०.१३ प्रतिशतले मात्र नाफा बढेको देखिएको छ ।
सिटिजन्स बैंकको नाफामा सबैभन्दा ठूलो गिरावट
नाफा घट्ने बैंकमध्ये सिटिजन्स बैंक पहिलो स्थानमा छ । बैंकको नाफा १४.९९ प्रतिशतले घटेर ४७ करोड रुपैयाँमा झरेको छ ।
नेपाल बैंक लिमिटेडको नाफा १२.४५ प्रतिशतले घटेर ७३ करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा १० प्रतिशतले घटेर ४७ करोड रुपैयाँ कायम भएको छ ।
लक्ष्मी बैंकको नाफा ८.३६ प्रतिशतले घटेर ८९ करोड रुपैयाँमा झरेको छ । कृषि विकास बैंकको नाफा पनि ६.३३ प्रतिशतले घटेको विवरणमा उल्लेख छ ।
कुमारी बैंकको नाफा ४.०१ प्रतिशतले घटेको छ भने सिद्धार्थ बैंकको नाफा ०.९९ प्रतिशतले घटेर ८४ करोड रुपैयाँमा झरेको छ ।




















प्रतिक्रिया