Logo

अर्थ

सिद्धार्थ बैंक २५औँ वार्षिक साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित



काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडको २५औँ वार्षिक साधारणसभाले सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

असोज २८ गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न साधारणसभाले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो।

हाल बैंकको साधारण सेयरतर्फ कायम चुक्ता पुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँ छ। त्यसको १० प्रतिशतका दरले १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ बराबरको बोनस सेयर वितरण गरिनेछ।

त्यस्तै, बैंकले १० प्रतिशतका दरले १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ। उक्त नगद लाभांश बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत रहेको बैंकले जनाएको छ।

यसैगरी, अविमोच्य असञ्चित अग्राधिकार सेयरधनीलाई पनि नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ। बैंकको अग्राधिकार सेयरतर्फ कायम ३ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजीमा ८.२५ प्रतिशतका दरले हुने रकममध्ये सेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको १३६ दिनका लागि समानुपातिक रूपमा १० करोड ७५ लाख ८९ हजार ४१ रुपैयाँ नगद लाभांश वितरण गरिनेछ।

साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तसम्मको वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण तथा इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरणसमेत पारित गरेको छ।

त्यस्तै, आगामी आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत सभाले अनुमोदन गरेको छ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार १६:३४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।