Logo

बैंकिङ

नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालन



काठमाडौं । नबिल बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। असोज २९ गते बिहीबारदेखि उपलब्ध यो कार्ड एनबैंक मोबाइल एपमार्फत आवेदन दिएर प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

बैंकका अनुसार ग्राहकले परम्परागत क्रेडिट कार्डका लागि आवश्यक कागजी प्रक्रिया र औपचारिकता पूरा नगरी एनबैंक एपको होमपेजमा रहेको ‘अप्लाइ नाउ’ विकल्पबाट आवेदन दिन सक्नेछन्। बैंकको आन्तरिक तथ्यांकमा आधारित विश्लेषण प्रणालीबाट योग्य ठहरिएका ग्राहकले एपमा उक्त विकल्प स्वतः देख्न सक्नेछन्।

भर्चुअल क्रेडिट कार्डमार्फत फोनपे मर्चेन्ट क्यूआर स्वीकार गर्ने विभिन्न व्यापारिक प्रतिष्ठानमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिनेछ। मोबाइल बैंकिङ एपबाटै प्राप्त गर्न र प्रयोग गर्न मिल्ने भएकाले यसले ग्राहकलाई डिजिटल कारोबारमा थप सहजता प्रदान गर्ने बैंकको अपेक्षा छ।

यस सेवाका लागि नबिल बैंक र फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको थियो। सहकार्यसँगै ग्राहकले भर्चुअल क्रेडिट कार्ड प्रयोग गरी फोनपे मर्चेन्ट क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन्।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले ग्राहकको आवश्यकताअनुसार नवीन वित्तीय सेवा उपलब्ध गराउने बैंकको प्रतिबद्धता दोहोर्‍याए।

‘ग्राहकको सहजता नै हाम्रो प्राथमिकता हो। डिजिटल युगको आवश्यकता अनुरूप ग्राहकलाई सकेसम्म बैंक शाखामै पुग्न नपरी बैंकिङ सेवा उपलब्ध गराउने दिशामा हामी निरन्तर काम गरिरहेका छौं। नबिल भर्चुअल क्रेडिट कार्ड सोही प्रयासको एक महत्वपूर्ण हिस्सा हो,’ उनले भने।

बैंकले यो सेवा डिजिटल बैंकिङको विस्तार र ग्राहकको बदलिँदो आवश्यकताअनुसार वित्तीय सेवा उपलब्ध गराउने प्रयासको महत्वपूर्ण हिस्सा भएको जनाएको छ। डिजिटल कारोबारको बढ्दो मागलाई ध्यानमा राख्दै सुरक्षित, सरल र सहज भुक्तानी प्रणाली विकास गर्न कार्ड ल्याइएको बैंकको भनाइ छ।

नबिल बैंकले हाल देशभर २ सय ६२ शाखा र ३ सय १६ एटीएममार्फत सेवा दिँदै आएको छ। बैंकका अनुसार २८ लाखभन्दा बढी ग्राहकले बैंकिङ सेवा लिइरहेका छन्। चार दशकदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नबिलले पछिल्लो समय डिजिटल बैंकिङ सेवाको विस्तारका लागि एनबैंक एप सञ्चालनमा ल्याएको छ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार २०:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।