Logo

अर्थ

कामना सेवा विकास बैंकद्वारा डिजिटल एआई असिस्टेन्ट ‘केएस मित्र’ सेवा सुरु



काठमाडाैं । कामना सेवा विकास बैंकले ग्राहकलाई अझ छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले एआईमा आधारित ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली ‘केएस मित्र’ सार्वजनिक गरेको छ ।

ग्राहकले बैंकको आधिकारिक वेबसाइट https://www.kamanasewabank.com मा उपलब्ध ‘आस्क केएस मित्र’ आइकनमार्फत, ईमेल ksmitra@kamanasewabank.com मार्फत तथा सिधै ह्वाट्सएप नम्बर ९८५१३६०००५ मार्फत खाताको बारेमा सोधपुछ, बैंकिङ अनुरोध तथा आफ्नो गुनासो सम्बन्धी जिज्ञासा राख्न सक्नेछन् ।

‘केएस मित्र’ मार्फत ग्राहकले शाखामा नपुगी बैंकका सेवा, सुविधा, शाखा तथा सम्पर्क नम्बर, ब्याजदर, सेवाशुल्क र अन्य सामान्य जानकारी प्राप्त गर्न सक्नेछन् । ग्राहकको पहिचान तथा खाताको विवरण रुजु भएपछि खाताको मौज्दात, कारोबार विवरण, ऋणको बाँकी रकम, सीआरएन, डिम्याट तथा केवाईसीसम्बन्धी जानकारीसमेत लिन सकिने बैंकले जनाएको छ ।

त्यस्तै, खाता ब्लक गर्ने, आम्दानीको स्रोत वा पेसा परिवर्तन गर्ने, मोबाइल बैंकिङको पासवर्ड वा पिन परिवर्तन गर्ने तथा मोबाइल बैंकिङ ब्लक गर्ने र त्यसको अवस्था बुझ्ने सुविधा पनि यस प्रणालीमा समावेश गरिएको छ ।

ग्राहकले ‘केएस मित्र’ मार्फत खोजेको जानकारी उपलब्ध नभएमा स्वतः टिकट जारी हुने व्यवस्था गरिएको छ । यसबाट ग्राहकका जिज्ञासा, सेवा अनुरोध तथा गुनासोको अनुगमन र समाधान प्रक्रियालाई सहज बनाउन सहयोग पुग्ने बैंकको विश्वास छ ।

बैंकले डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै ग्राहक सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यअनुरूप यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ । बैंकका अनुसार ‘केएस मित्र’ ले डिजिटल माध्यमबाट बैंकिङ जानकारी प्राप्त गर्न सहज बनाउनुका साथै ग्राहक सेवा प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग गर्नेछ ।

बैंकले आफ्नो ‘फ्युचर रेडी’ अवधारणाअनुरूप ग्राहकको समय बचत गर्दै डिजिटल माध्यमबाट बैंकिङ सेवा सहज बनाउने पहल अघि बढाएको जनाएको छ । यससँगै ग्राहकको आवश्यकता र सुविधालाई केन्द्रमा राखेर विशेष बचत खातामार्फत उपलब्ध गराइने ‘डोरस्टेप बैंकिङ’ सेवालाई पनि डिजिटल नवप्रवर्तनसँग जोड्ने अवधारणालाई प्राथमिकता दिएको बैंकले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार १५:४२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।