काठमाडौँ । दसैँको मुखमा बजारमा करिब ६३ अर्ब रुपैयाँ थप मुद्रा प्रवाह भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनामा मात्रै बजारमा चलनचल्तीमा रहेको नगदको परिमाण उल्लेख्य रूपमा बढेको हो।
भदौ मसान्तसम्म बजारमा ७ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको नगद चलनचल्तीमा रहेकामा बुधबारसम्म आइपुग्दा यो रकम बढेर ८ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ। दसैँलगायतका चाडपर्व नजिकिँदै गर्दा नगदको माग अझै बढ्न सक्ने राष्ट्र बैंकका अधिकारीहरूको अनुमान छ।
डिजिटल भुक्तानीको प्रयोग विस्तार हुँदै गए पनि दसैँ, तिहारजस्ता चाडपर्वमा नगदमै कारोबार गर्ने प्रवृत्ति कायम छ। दक्षिणा, किनमेल तथा अन्य चाडपर्वजन्य खर्चका लागि सर्वसाधारणले नगद प्रयोग गर्ने भएकाले यो समयमा बजारमा मुद्रा प्रवाह बढ्ने गरेको छ।
यस अवधिमा सर्वसाधारणले नेपाल राष्ट्र बैंक र विभिन्न वाणिज्य बैंकमार्फत करिब १३ अर्ब रुपैयाँ बराबरका नयाँ तथा सफा नोट साटेका छन्। राष्ट्र बैंकका अनुसार उक्त रकममध्ये करिब ३ अर्ब रुपैयाँ थापाथलीस्थित कार्यालय तथा प्रादेशिक कार्यालयमार्फत साटिएको हो। बाँकी १० अर्ब रुपैयाँ वाणिज्य बैंकहरूले आफ्ना ग्राहकलाई नोट सटही सुविधा उपलब्ध गराउन लगेका छन्।
राष्ट्र बैंकले असोज १ गतेदेखि पाँच, दस, बीस, पचास र एक सय रुपैयाँ दरका नोट साट्ने सुविधा सञ्चालन गरेको थियो। चाडपर्वमा नयाँ तथा सफा नोटको माग बढ्ने भएकाले राष्ट्र बैंकले सर्वसाधारणलाई सहज रूपमा नोट सटहीको व्यवस्था मिलाएको हो।




















प्रतिक्रिया