Logo

राजनीति

नेपाल-भारत सीमा समस्या अब छलफलको एजेन्डा



नयाँ राजनीतिक नक्सा र सीमांकनको आ–आफ्नै अडानका कारण धमिलिएको नेपाल–भारत कूटनीतिक तथा राजनीतिक सम्बन्ध सुधार गर्न सिमाना विवादका विषय द्विदेशीय छलफलको प्रक्रियामा जोडिने भएको छ ।

दुई देशबीच एक वर्ष लामो कूटनीतिक तथा राजनीतिक संवादहीनता पन्छाउँदै नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलासँगको एकल तथा सामूहिक भेटवार्तामा परराष्ट्रमन्त्री र सचिवसहितका अधिकारीले नेपालको राजनीतिक नक्साको आधिकारिकता तथा सीमांकन प्रमाणिकताको सरोकार उठाएका छन् । ‘सीमा समस्यालगायत दुई देशबीचमा जेजति आउटस्ट्यान्डिङ विषय छन्, तिनीहरूलाई पनि समाधान गर्दै जाने र त्यसका लागि प्रक्रियामा राखेर अघि बढ्ने विषयमा छलफल भएको छ,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कान्तिपुरसँग भने ।

मन्त्री ज्ञवालीले विदेश सचिवको तहमा सुरु भएको सघन छलफलबाट आफू खुसी भएको प्रतिक्रिया दिएका छन् । उनले समग्र छलफल राम्रो भएको उल्लेख गर्दै नेपाल–भारत आपसी सम्बन्धलाई थप सुदृढ गर्दै र सहयोगका नयाँ क्षेत्रहरू पहिल्याउँदै अघि बढ्न सहमत भएको जानकारी दिए । ‘मैले विदेश सचिवसँगको कुराकानीको सारबाट भारतले नेपालसँगको सम्बन्धलाई सृदृढ बनाएर लैजाने इच्छासहितको सन्देश दिन खोजेको बुझेको छु,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने ।

यसपछि नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयन्त्र बैठक अथवा आवश्यकताअनुसार अरू तहको छलफलबारे छिट्टै तालिका निर्धारण हुनेबारे बिहीबारको भेटवार्तामा सहमति जुटेको पनि मन्त्री ज्ञवालीले जानकारी दिए । गत वर्ष भदौ ४ मा परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक बसेयता सीमा विवादलगायतका कारण ‘संवादहीनता’ रहँदै आएको थियो । बिहीबार बिहान काठमाडौं उत्रिएका विदेश सचिव श्रृंगलासँग नेपाली समकक्षी परराष्ट्र सचिव भरतराज पौड्यालसहितको कूटनीतिक प्रतिनिधिमण्डलले झन्डै २ घण्टा होटल याक एन्ड यतिमा सचिवस्तरीय बैठक गरेको थियो । ‘दुई पक्षमा छलफलको राम्रो सुरुवात भएको छ । दुई देशबीचका समस्या समाधान गर्नेबारे छलफल सुरु भएको छ, यसलाई अत्यन्त सकारात्मक रूपमा लिएका छौं,’ विदेश सचिव श्रृंगलाले बैठकपछि मिडियासँग संक्षिप्त प्रतिक्रिया दिएका थिए । याे खबर कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार  ८ : २२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।