‘भनिन्छ मानिसको सुस्वास्थ्यका लागि निरन्तर सक्रियताको जरूरी हुन्छ । नेतृत्व तहबाट जिम्मेवारी तोक्न ढिलाई हुँदैगर्दा नेकपाका नेता तथा कार्यकर्ताको स्वास्थ्य पनि बिग्रिँदैजाने हो कि भन्ने चिन्ता लाग्न थाल्यो’, नेकपाका एक जना पाका केन्द्रीय सदस्य काशीनाथ अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा लेखे।
उनको स्ट्याटसमा समर्थन जनाउँदै रामप्रसाद रिमालले टिप्पणी लेखे, ‘सही विचार हो कमरेड ! पार्टी प्यारालाइसिस भएको मान्छे जस्तो भयो । उठ्न गाह्रो हुने भयो । मुख तथा जिब्रो मात्र चल्छ, कानले पनि काम गर्न छाड्यो, हातखुट्टाको त कुरै छाडौँ । जिबो पनि लट्याङ्ग्रो जस्तो के बोल्ने के नबोल्ने, ठेगान नै छैन ।’
अर्का ‘कमरेड’ हरि आचार्यको टिप्पणी थियो, ‘माथिको रजगजले तलको आधार भत्काउने हो कि भन्ने चिन्ता निष्ठाबान कार्यकर्तालाई छ । समयमा बुद्धि नपुर्याए पछुताउनुबाहेक के होला र कमरेड !’
काशीनाथ अधिकारी एमालेका पुराना केन्द्रीय नेता हुन् । चितवन कर्मथलो भएका उनी गत महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली ‘प्यानल’ बाट केन्द्रीय सदस्य लडेका थिए । तर, अहिले फेसबुकमा लेखेर पार्टीको स्वास्थ्यबारे चिन्ता व्यक्त गर्ने अवस्थामा पुगेका छन् । ‘कमरेड’ हरूको मनको बह पोख्ने ठाउँ सामाजिक सञ्जाल हुन थालेको छ ।
पार्टी पद्धति र फलामे अनुशासनका कुरा गर्ने पुराना ‘कमरेड’ हरू नै अहिले सामाजिक सञ्जालबाट कराउनुपर्ने अवस्थामा पुगेका छन् । पहिले कमरेडहरू पार्टीकाे बैठकमा विवाद गर्थे तर पत्रकारले सोधे पनि ‘क्रिटिकल’ भएर बोल्दैनथे । अहिले स्वयम् सामाविक सञ्जालमै लेख्न थालेका छन् । झण्डै नौ लाख सदस्य रहेको दाबी गरिने नेकपा अहिले केन्द्रीय सचिवालयका नौ जनामा सीमित हुन पुगेको छ ।
सचिवालयबाहेक स्थायी कमिटी, केन्द्रीय कमिटी बनेका छन् । एकता घोषणा गरिएको प्रदेश कमिटी पनि प्रदेश नं. १ एउटाबाहेक अरुले सपथग्रहण गर्न सकेको छैन । नेकपाका कमिटी भद्दा छन् । केन्द्रीय कमिटी ४४५ सदस्यीय, प्रदेश कमिटी पनि करिब २५० सदस्यीय र स्थायी कमिटी नै ४५ सदस्यीय छ । त्यहाँ कुरा राखेर कुनै निर्णयमा पुग्न सकिने अवस्था छैन । प्रदेश १ कमिटीका सदस्य दीपक कार्की भन्छन्, ‘प्रदेश कमिटीको पनि सचिवालय भनेर सानो नबनाए त्यहाँ छलफल गरी कसरी निष्कर्षमा पुग्न सकिएला र ।’
पार्टी स्थायी कमिटी पार्टी एकीकरणपछि जम्मा दुई पटक बस्यो । त्यसका निर्णय पनि केन्द्रीय सचिवालयले उल्टाइदिएको छ । पार्टी एकताका बाँकी काम पूरा गर्न गठित नौ सदस्यीय कार्यदललाई काम गर्नै नदिई विघटन गरिदिएको छ । त्यसैले केन्द्रीय सदस्यको त के कुरा सचिवालय, स्थायी कमिटीकै नेताहरू पनि सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्नुपर्ने अवस्थामा छन् ।
केही समयअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल नै सरकारले परिवर्तनलाई उल्टाउन खोजेको, संघीयताबाट पछि फर्केकोजस्ता आरोप लगाउँदै भाषण गरे । त्यसलाई चुनौती दिन सचिवालय सदस्य रहेका साविक एमाले महासचिव ईश्वर पोखरेलले फेसबुकमा उनलाई लक्ष्यित गर्दै ठोके, ‘परिवर्तनको आन्दोलन चलिरहँदा चुलिएका र चुल्याइएका जनताका आकाङ्क्षाहरू, परिवर्तनपछि स्वभाविक रूपमा प्रकट हुने अस्तव्यस्तता , तिनको संवोधन वा व्यवस्थापनमा राज्य संचालनमा पुगेकाहरूमा देखापर्ने कमजोरीहरू सीमा, अकुशलता, केही केही सत्तास्वार्थप्रेरित अभिव्यक्ति तथा गतिविधिहरू अर्थात् स्थितिजन्य अयोग्यताहरूलाई अगाडि सारेर प्रतिक्रान्तिलाई मलजल गर्ने उद्देश्य सहित केही गतिविधिहरू देखापर्न खोज्दैछन् ।
यस्तो वेलामा राष्ट्रियता र जनताको पक्षमा दृढतापूर्वक उभिनेहरूले विनय भाव सहितको दृढ़ता र आपसी एकता मजबुत बनाउनु जÞरूरी छ । व्यक्तिगत सन्तुष्टी र असन्तुष्टीबाट निर्देशित हुने सहुलियत वा छूट कसैका लागि पनि छैन र हुन सक्तैन !’
त्यसो त नेकपाका राजनीतिक चिन्तक पूर्व उपमहासचिव घनश्याम भुसाल पनि पार्टीपद्धतिको ख्याल गर्ने नेतामध्ये एक हुन् । उनी कहिल्यै कसैको पनि नाम लिएर सार्वजनिक टिप्पणी गर्दैनन् । नेतृत्वले जति पेले पनि निरन्तर अविचलित भई पार्टी कार्यमा क्रियाशील भुसाल अहिलेको नेतपाभित्रका ‘प्रतिपक्षी नेता’ को हैसियत राख्छन् ।
केही समयअघि पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी ओली र उनकै गुटका नेता माधवकुमार नेपाल समेत ‘युनिभर्सल पिस फाउण्डेसन’ को सम्मेलन सफल बनाउन दिलोज्यानले क्रियाशील भएको देखेपछि सामाजिक सञ्जालमा लेखे, ‘विगत केही दिनमा नेताहरूको संस्कृतिक अधपतन र नग्नताको जुन राष्ट्रिय परेड प्रदर्शन भयो, त्यसको मूल्य यस मुलुकका सन्तान–दर–सन्तानले लामो समयसम्म तिर्नुपर्नेछ ।’
पार्टीकै अर्का स्थायी कमिटी सदस्य योगेश भट्टराईले केही दिनअघि प्रधानमन्त्रीलाई माग राखे, ‘प्रमज्यू, तपाईंको अध्यक्षतामा रहेको चिकित्सा शिक्षा आयोगमार्फत् सबै मेडिकल कलेजको छानबिन गरियोस् । गलत धन्दामा लागेका कलेजको सम्बन्धन खारेज गरियोस् । विद्यार्थी र अविभावकलाई तनावबाट मुक्त गरियोस् ।’
त्यसो त नेकपाका नेताहरूले सामाजिक सञ्जालबाट प्रश्न उठाउने र गुटगत हिसाबले आफ्नोबाट जवाफ लेख्ने गरेका पनि छन् । सिके राउत–सरकार सहमतिपछि साविक एमालेका उपाध्यक्ष भीम रावलले ट्वीटरमार्फत् विरोध गर्दै लेखे, ‘नेपाल आमालाई गालिगलौज गर्र्द विदेशीसँग समेत साँठगाँठ गर्ने सीके राउतलाई राष्ट्रिय हिरोको सम्मान दिँदै अलग देशको नेतासँगझैँ सम्झौता गरी स्वतन्त्र मधेश र स्वशासनजस्ता संविधानविपरीतका कुरा मेरोविरुद्धको कुप्रचारको थोत्रो बर्कोले छोपिने छैनन् ।
अर्का नेकपा स्थायी कमिटी सदस्य प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमै लेखे, ‘सहमतिको बुँदा २ ले पृथकतावादलाई प्रोत्साहित गर्छ भन्नेहरूले बुँदा नं. १ ले त्यसलाई पूरै अस्वीकार गरेको छ भनेर किन नदेखेको होला ?’
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रहेका नेकपा स्थायी कमिटीका अर्का सदस्य विष्णु रिमालले ट्वीट गरे, ‘ सत्तारुढ नेकपाभित्र, प्रतिपक्ष शक्ति तथा बौद्धिक वर्गमा यी दुई संवेदनशील विषय (पृथकतावाद, हिंसावाद) मा ‘राजनीति’ गर्ने चाहना देखियो ।’
पार्टीको ‘माधव नेपाल प्यानल’ ले आफूलाई अध्यक्ष ओलीले ‘एक्स्क्युड’ गरेकोले त्यसविरुद्ध सामाजिक सञ्जाललाई राम्ररी प्रयोग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अरिङ्गाल जसरी सरकारको बचाउमा खनिन निर्देशन दिएपछि अर्का नेता घनश्याम भुसालले सार्वजनिक रूपमै जवाफ दिएका थिए, ‘सरकारले पार्टीमा छलफल गरेर काम गरेको छैन, त्यसैले हामी त्यसको वचाऊ गर्न सक्दैनौँ ।’ केही समयअघि युवानेता योगेश भट्टराईले सार्वजनिक अभिव्यक्ति दिएका थिए, ‘सामाजिक सञ्जालबाहेक हाम्रो कुरा राख्ने ठाउँ खोई ?’




















प्रतिक्रिया