Logo

टिप्पणी

रजस्वाला हुँदा समेत स्टेयरिङमा पिङ खेल्ने आमाहरु



काठमाण्डौ उपत्यकामा ठ्याक्कै कति महिला सवारीचालकहरु छन् भन्ने तथ्यांक न सरकारसँग छ, न त कुनै सरोकारवाला निकायसँग नै । अझैपनि समाजले महिलाहरुलाई यातायात क्षेत्रमा लागेर जीविकोपार्जन गर्न सहज दृष्टिकोण राख्नुको सट्टा निरुत्साहित गर्न पछि परेको छैन ।

काठमाण्डौ उपत्यकामा साना तथा ठूला सवारीसाधनमा गरी करिब ४ सय महिला सवारीचालक रहेको अनुमान स्वयम महिला चालकहरुको छ । बालबच्चा पाल्न र जीवन निर्वाह गर्नका लागि जिम्मेवारी बोकेर व्यस्त सडकमा स्टेयरिङसँगै पौठेजोरी खेल्ने महिला चालकहरुको वास्तविक कथा यस्तो छ ।

महिला चालकमाथी विभेद

एक दम्पती पूर्वतिरबाट काठमाण्डौ आएका रहेछन् । थानकोट हुदै कलंकी ओर्लिएका ती दम्पती पूरानो बसपार्क आउने भनेर टेम्पो चढ्न लागे । यसैक्रममा कलंकीबाट सुन्धारा चल्ने टेम्पोमा उनीहरु पुगे । जहाँ ३८ बर्षीया मायादेबी बिष्ट चालकको सिटमा थिइन् । जब टेम्पो चढेका दम्पतीले मायादेबीले चलाउन लागेको देखेर अत्तालिदै बाहिर निस्किए ।

महिला चालक देखेर एक दम्पती आत्तिनै कराए,‘आईमाई मान्छेले चलाको रछ, राम…राम…राम… कुन खाल्डोमा हाल्दिने हो । ’

उनीहरु भन्दै थिए,‘आईमाई मान्छेले पो चलाको रछ है, राम…राम…राम.. झण्डै कुन खाल्डोमा लगरे हाल्देको । ’ त्यसलगत्तै मायादेवीले ती दम्पतीलाई राम्रोसँग पु-याइदिने बाचा गरिन् । उनीहरु डराईडराई फेरि त्यहि टेम्पो चढे । नभन्दै सुन्धारा आइपुग्यो । ति दम्पती लज्जित भएर आफ्नो बाटो लागे ।

यो कुनै काल्पनिक कथा होइन । टेम्पो चालक मायादेबीले भोग्नुपरेको वास्तविक घट्ना हो । यस्ता घट्ना महिला सवारीचालक र सहचालकहरुले कुनै न कुनै रुपमा भोग्नु परेको छ । महिला मजदुरलाई समाजले हेर्ने दृष्टिकोण सकारात्मक बनिनसकेकाले धेरै काम गर्ने रुची भएका महिलाहरु यस्ता कामबाट बञ्चित छन् ।

यात्रुसँग घम्साघम्सी

धादिङकी गीता पाण्डेले पनि काठमाण्डौ आएर टेम्पु चलाउन थालेको १० बर्ष भइसक्यो । मद्यपान सेवन गरेर आएका यात्रुदेखि उनलाई डर लाग्छ । कहिलेकाँही त्यस्ता यात्रुले गाडीभित्रै होहल्ला गर्दा हिम्मत जुटाएर तिनिहरुलाई जर्वजस्ती निकालिदिने गरेको पम्फा बताउछिन् । कतिपय यात्रुले होच्याएर बोल्दा दुःख लाग्ने उनको बुझाई छ ।

दयाभित्र लुकेको हेपाहा प्रवृत्ति

परिवार पाल्नुपर्ने बाध्यतालाई रहरमा बदल्दै १३ बर्षदेखि सवारीसाधन चलाउदै आएकी सिन्धुलीकी चेतकुमारी प्रधानले कामकै सिलसिलामा विवाह समेत गर्न भूलिन् । परिवार,काम र पैसालाई नै प्राथमिकता दिदै आएकाले आफुले विवाह समेत गर्न भूलेको उनी बताउछिन् । उनीसँग पनि महिला सवारीचालकमाथी हुने गरेका प्रसंस्त हिंसाका घट्नाहरु छन् । कतिपय यात्रुले त तिमी कहाँ बस्छौ ? तिम्रो श्रीमानले हेरचाह गर्छन् कि गर्दैनन् ? छोराछोरी पढाउन सकेको छौ कि छैनौ ? जस्ता प्रश्न सोध्दै दया देखाउने गरेको उनी बताउछिन् ।

काठमाण्डौ उपत्यकामा अहिले करिब ४ सयको संख्यामा महिला चालकले सवारीसाधन चलाउदै आएका छन् । त्यसमध्ये सबैभन्दा बढि टेम्पुमा छन् । मिनिबस चलाउने महिलाको संख्या अरुमा भन्दा न्युन छ ।

रजस्वला हुँदा पनि विदा पाउदैनन् महिला चालकले

आफुहरुलाई सबैभन्दा गाह्रो रजस्वलाको समयमा हुने गरेको महिला चालकहरु बताउछन् । रजस्वाला भएको बेला २÷३ दिन विदा दिनुपर्छ भनेर यातायात व्यवसायीसँग पटक पटक आवाज उठाउँदा समेत सुनेको नसुनै गरेको उनीहरुको गुनासो छ । रोजीरोटी गुम्ने डरले महिला चालकहरु त्यस्तो समयमा समेत सवारी हाक्छन् । रजस्वला भएको समयमा गाडी चलाउदा कहिलेकाँही रगत बाहिरी कपडामा लत्पतिने त्यस्तो बेला ट्वाइलेट जान समेत नपाउदा उनीहरुलाई बढि समस्या हुने गरेको छ ।

तीव्र गतिमा विस्वास गर्दैनन् महिला चालकहरु

काठमाण्डौ उपत्यकाभित्र चल्ने सवारीसाधनमा देखिने प्रतिस्पर्धा दुर्घट्नाको एक प्रमुख कारक हो । गन्तव्यमा पुग्न तथा बढि यात्रु चढाउने होडबाजीमा उपत्यकाभित्र चल्ने सवारीसाधन कतिबेला कहाँ रोकिन्छ ? भन्ने ठेगान हुदैन । सवारी चालकहरुले पनि यात्रु चढाउन छिनमै ब्रेक लगाउने र छिनमै तीव्रगतिमा कुदाउने गर्छन् । तर आफुहरुले भने पुरुष चालकहरुले जति पेलेपनि आफ्नै गतिमा होसियारीपूर्वक चलाउने गरेको बताउछन् । महिला चालकले चलाएको सवारीसाधन ढिलो गन्तव्यमा पुग्ने भन्दै यात्रुहरु समेत तर्किने गर्छन् । तर कतिपय यात्रुले भने महिलाले चलाएको सवारीसाधन सुरक्षित महसुस गर्ने गरेका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहीबार १४:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।