Logo

कर्णाली प्रदेश

हुम्लामा हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित



दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ। पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा बिहीबार बिहान ६ बजेबाट हिमपात सुरु हुँदा हवाई उडान प्रभावित भएको छ।

हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थलले जनाएको छ । नेपालगञ्ज सुर्खेतबाट बिहान ७ बजेदेखि हुम्लामा उडान गर्दै आएको तारा, सीता, समिट एयरलाइन्सका उडान प्रभावित भएका छन्। हवाई यातायात बन्द हुँदा अत्यावश्यक कामका लागि बाहिर जाने स्थानीयवासी समस्यामा परेका छन् ।

हिमपातका कारण चिसो अत्यधिक बढेको छ । यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । उत्तरी नाम्खा गाउँपालिकामा जिल्ला सदरमुकामभन्दा बढी चिसो रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । यहाँको तापक्रम माइनस ६ डिग्री सेल्सियससम्म पुगेसँगै बिहान बेलुका बढी चिसो हुने गरेको छ। हिमपातले बिहानी कक्षा लिँदै आएका कैलाश बोर्डिङ र हिमाली बोर्डिङका विद्यार्थीलाई समस्या बनाएको कैलाश बोर्डिङका प्रधानाध्यापक छवाङ लामाले बताए।

दोस्रो पटक हिमपात हुँदा जिल्लाका दक्षिण क्षेत्रका किसानलाई फाइदा पुगेको छ । हिउँदे बाली गहुँ, जौ, खनजोत गर्ने समयमा हिमपात हुँदा सजिलो हुने भएको सर्केगाड गाउँपालिकाका फागुने महतराले बताए । हिमपातका कारण एक गाउँबाट अर्को गाउँसम्मको आवतजावत रोकिएको छ । सदरमुकाममा चहलपहल न्यून छ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार ०६:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।