प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिबाट लोकसेवा आयेगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ । विधेयकमा प्रशासनिक र आर्थिक स्वायत्ता खोस्ने तथा लोकसेवा आयोगलाई काठमाडौंमा सीमित गर्ने व्यवस्था रहेको भन्दै प्रतिपक्षी कांग्रेस र आयोगका अधिकारीले विरोध गर्दै आएका थिए ।
आइतबार बसेको समिति बैठकले विवादीत विषयको टुंगो लगाउँदै लोकसेवा विधेयक पारित गरेको हो । लोकसेवा आयोगले आवश्यकताअनुसार मुलुकभर कार्यालय खोल्न पाउने व्यवस्था विधेयकमा राखिएको छ । नेकपाका सांसद नवराज सिलवालले मुलुकभर लोकसेवाका कति कार्यालय आवश्यक पर्ने हुन् र कति राख्ने भन्ने कानुनमा स्पष्ट लेख्नुपर्ने माग गरे पनि आवश्यकताका आधारमा तोक्ने विषयमा सहमति बनेको हो ।
विधेयकको विवादित विषय लोकसेवामा कार्यरत कर्मचारी सरुवामा पनि सहमति जुटेको छ । लोकसेवामा कार्यरत कर्मचारी सरुवाको व्यवस्था संघीय निजामती विधेयकमा गर्ने समितिमा सहमति जुटेको हो । संघीय निजामती विधेयकमा सबै संवैधानिक आयोगमा कार्यरत कर्मचारीको सरुवासम्बन्धी व्यवस्था गर्ने गरी आयोगका कर्मचारीबारे सहमति जुटेको हो । कांग्रेसले लोकसेवामा कार्यरत कर्मचारीलाई सरुवा गर्दा आयोगको सहमति लिनुपर्ने हालको व्यवस्था यथावत राख्न माग गरेको थियो ।
त्यस्तै, लोकसेवा आयोगका अधिकारीहरुले पनि लोकसेवा आयोगको संवेदनशीलता र गोपनीयतालाई ख्याल गरेर कर्मचारी सरुवा गर्दा आयोगको सहमति लिने व्यवस्था गरिदिन समितिलाई आग्रह गरेका थिए । विधेयकमा भने लोकसेवा आयोगमा कार्यरत कर्मचारीलाई सरकारले चाहेको बेला सरुवा गर्नसक्ने व्यवस्था गरिएको थियो ।
लोकसेवा आयोगको बजेट परिचालन सम्बन्धी व्यवस्थामा पनि सहमति जुटेको छ । अब आयोगले विविध शीर्षकको बजेट खर्च गर्नुपर्दा मात्रै कार्यविधि बनाएर अर्थ मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था गरिएको छ ।
परीक्षा लगायत नियमित बजेट खर्च गर्नका लागि भने अर्थ मन्त्रालयको सहमति लिनुपर्ने छैन । सरकारले ल्याएको विधेयकमा भने लोकसेवा आयोगले बजेट खर्च गर्दा अर्थमन्त्रालयको पूर्वस्वीकृति लिनुपर्ने प्रस्ताव गरिएको थियो ।समितिबाट पारित भएको लोकसेवा आयेगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अब संसदमा जानेछ ।कान्तिपुरबाट ।





















प्रतिक्रिया