Logo

पत्रपत्रिका

मदन भण्डारी राजमार्ग केपी शर्मा ओलीको गृहनगर दमकसँग जोड्न चलखेल



निर्माणाधीन मदन भण्डारी राजमार्ग प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकसँग जोड्न चलखेल भएको भन्दै सत्तारूढ दलकै सांसदले आपत्ति जनाएका छन् । उनीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलाई भेटेरै राजमार्ग चुरेको फेदी हुँदै लैजान आग्रह गरेका छन् ।

पूर्वपश्चिम राजमार्गदेखि १७ किलोमिटर उत्तरमा मदन भण्डारी राजमार्गको रेखांकन हुनुपर्ने उनीहरूको माग छ। मोरङ क्षेत्र नम्बर १ का संघीय सांसद घनश्याम खतिवडा र प्रदेश सांसदद्वय उपेन्द्र घिमिरे र कुशल साम्बाले तोकिएभन्दा अन्यत्रबाटै सडक लैजान खोजिएको भन्दै आपत्ति जनाएका हुन्।

दमकमा निर्माणाधिन भ्यू टावरलाई लक्षित गरेर राजमार्ग त्यसतर्फ लैजाने तयारी थालिएको छ। यसका लागि लेटाङबाटै दक्षिणी क्षेत्रतर्फ सडकको रेखांकन गरिएको छ। नयाँ योजनामा लेटाङको विपी चोक, जाँतेको मदन चोक हुँदै मधुमल्ला चोक निकालेर दमकको बेलडाँगी जोड्ने तयारी छ।

नयाँ रेखांकनमा उत्तरी क्षेत्रमा बसोबास गर्ने नागरिक र गाउँबस्तीलाई आयोजनाले समेट्न नसकेको सांसदहरूले आरोप लगाएका छन्। पुरानो योजनाअनुसार जाँतेको मलिन चोक, खोलिटार हुँदै, टाँडीको धोबेनी र मिक्लाजुङको तोरिबारी हुँदै इलामको शिखरकटेरी जोड्ने सहमति भएको सांसद लिम्बूले बताए।

सडक दमकतिर जोड्दा करिब १० किलोमिटर क्षेत्रफलमा रुख काट्नुपर्ने प्रदेश सांसद घिमिरेले बताए। बस्ती बाइपास गरेर रुख काट्दै निर्माण गरिने सडक आफूहरुलाई मान्य नहुने उनको भनाइ छ। यस्तै, अर्का सांसद कुलप्रसाद लिम्बूले पनि दमकमा निर्माणाधीन भ्यू टावरलाई पायक पर्ने किसिमले सडक लैजान खोजिएको आरोप लगाए। चुरेको फेदीबाट नै राजमार्ग लैजानुपर्ने उनले बताए।

संघीय सांसद खतिवडाले सकेसम्म चुरे विनाश नहुने गरी सडक लैजानुपर्नेमा जोड दिए। उनले भने, ‘चुरेको फेद र मधेसको भित्तोबाट सडक लैजानुपर्छ। यो सडक भ्यू टावरतिर जाँदैन।’ पूर्व झापाको बाहुनडाँगीदेखि पश्चिम डडेलधुराको रुपालसम्मको १२ सय ५० किलोमिटर जोड्ने मदन भण्डारी राजमार्गको काम चरणबद्ध रुपमा भइरहेको छ।

आयोजना प्रमुख उमेश श्रेष्ठले मोरङतर्फ कुनै विवाद नभएको दाबी गरे पनि स्थानीयले बस्ती वाइपास गरेर सडक लैजान खोजिएको भन्दै विरोध जनाइरहेका छन्। उनले चुरे विनाश हुने गरी सडकको नक्सांकन नगर्ने र केही तलबाट लैजाने सहमति भएको दाबी गरे।

झापामा झन् विवाद

विवादकै कारण झापामा सडकको रेखांकन नै हुन सकेको छैन। प्रधानमन्त्रीको गृहनगरलाई जोड्ने गरी रेखांकन गर्न खोजिएको भन्दै अन्यत्रका उपभोक्ताले विरोध जनाएका छन्। दमक जोड्न माई नगरपालिकाबाट सडक आउने भएपछि विवाद झन् बढेको हो। नगरपालिकाको कार्यालयनजिकै पूर्वपश्चिम राजमार्गसमेत पर्छ।

आयोजना प्रमुख श्रेष्ठका अनुसार राजमार्गको सर्भे पहिल्यै भएपनि सरकारले राष्ट्रिय आयोजनामा परेपछि विभिन्न स्थानमा विरोध भएको छ। उनले भने, ‘सकेसम्म विवादरहित ढंगले काम गर्ने पक्षमा छौं। स्थानीय सबैको सहमति भए त्यही अनुसार सडकको रेखांकन गर्नेछौं।’

आयोजना प्रमुख श्रेष्ठले मोरङ क्षेत्रमा धेरै रुख नकाटिने दाबी पनि गरे। उनका अनुसार जंगलबाट जाने पुरानै सडकलाई राजमार्ग कायम गरिनेछ। दमकबाट लगिए पनि उक्त सडकले भ्यू टावर नछुने श्रेष्ठले प्रतिक्रिया दिए। त्यहाँभन्दा माथिबाट सडक लगिए चुरे क्षेत्र मासिने आयोजनाको दाबी छ।

मदन भण्डारी राजमार्गको मेची महाकाली सरोकार समितिका संयोजक बृहस्पति खतिवडा उक्त राजमार्गलाई दमकमा जोड्नुपर्ने कुनै औचित्य नरहेको बताउँछन्। चुरेको भित्तामा बसोबास गर्नेहरूलाई लक्षित गरेर आयोजना ल्याइए पनि घडेरी व्यवसायीको कुरा सुनेर पूर्वपश्चिम राजमार्गको आसपासमै सडक ल्याउन खोजिएको उनको दाबी छ।

‘पहिले चुरेको भित्तामा बस्ने मानिसहरुलाई लक्षित गरेर सडक बनाउने भन्ने अनि अहिले उनीहरुलाई वेवास्ता गरेर अन्यत्रै लैजान खोजिन्छ भने सडकको औचित्य छैन,’ उनले भने। सरकारले २०७५ जेठमा मदन भण्डारी राजमार्गलाई राष्ट्रिय आयोजना घोषणा गरेको थियो। पहिलो चरणमा आर्थिक वर्ष ०७५र०७६ करिब ४ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको थियो। कान्तिपुरबाट ।

प्रकाशित मिति : १४ पुष २०७६, सोमबार ०१:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।