Logo

बिग ब्यास लिग: होबार्टको विजयी सुरुवात



अष्ट्रेलियाको चर्चित टि ट्वान्टी क्रिकेट प्रतियोगिता बिग ब्यास लिग (बिबिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने टिम होबार्ट हरिकेन्सले विजयी सुरुवात गरेको छ ।

हिजो सम्पन्न पहिलो खेलमा सिड्नी सिक्सर्सलाई १६ रनले पराजित गर्दै हरिकेन्सले प्रतियोगितामा विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको सिक्सर्सले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६२ रन मात्र बनाउन सक्यो । सिक्सर्सका जेम्स भिन्सले ४१ बलमा ८ चौका र २ छक्का सहित सर्वाधिक ६७ रनको योगदान दिएपनि टोलीलाई जिताउन सकेनन् ।

ज्याक एड्वार्डस ३९ बलमा ६ चौका र १ छक्का सहित ४७ रनको योगदान दिए । ओपनर जोश फिलिपे भने एक रनमै आउट हुन पुगे । जोर्डन सिल्क १३, कप्तान ड्यानियल हक्स ९ र ड्यानियल क्रिष्टियन १० रनमा अविजित रहे । अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

होबार्टका तीव्र गतिका बलर जेम्स फल्क्नरले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । राइली मेरेडिथले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । नाथन इल्स र स्कर्ट बोल्यान्ड नाममा एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको होबार्टले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो । होबार्टका कोलिन इनग्राम र टिम डेभिडले अर्ध शतकीय योगदान दिए । इनग्रामले ४२ बलमा ७ चौका र १ छक्का सहित ५५ रनमा क्याच आउट भए ।

सिंगापुरबाट खेल्दै आएका अलराउन्डर टिम डेविडले ३३ बलमा ८ चौका र १ छक्का सहित ५८ रन जोडे । कप्तान पिटर ह्यान्डस्कोम्बले २४ र नाथन इल्सले १४ रन जोडे । दुवै ओपनर विल ज्याक्स र डार्सी सर्ट भने शून्यमा आउट भएपनि मध्यक्रमका ब्याट्सम्यानले होबार्टलाई समालेका थिए ।

सिक्सर्सका बेन द्वारशुइसले ४ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । ड्यानियल क्रिष्टियनले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । 

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार १०:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।