Logo

राजनीति

सुतेका ओली उठेपछि वारपारको लडाई हुने



प्रधानमन्त्री केपी ओलीको दोस्रो पटकको मृगौला प्रत्यारोपण सफल भएकाले अब उहाँको लामो समयदेखिको स्वास्थ्य चिन्ता लगभग सकिएको छ । ओली अबका आठ दस वर्ष फेरि सक्रिय राजनीतिक जीवनमा रहन सक्ने सम्भावना पनि प्रबल भएको छ । तर, सत्तारुढ दल नेकपाको स्वास्थ्य अवस्था भने अबको केही समयभित्रै नराम्रोसँग खस्किने खतरा बढेको छ । ओलीका सामु सबैभन्दा चुनौती नै कमजोर स्वास्थ्य अवस्था हो ।

त्यही कमजोर स्वास्थ्य अवस्थाको उपयोग गर्दै उनी पार्टी अध्यक्षदेखि प्रधानमन्त्रीसम्म पड्काउन पनि सफल भएको पनि सत्य हो । दोस्रो पटकको मृगौला प्रत्यारोपणले ओलीको स्वास्थ्य मात्रै बलियो बनाएको छैन कि उनमा आत्मबल अर्थात दम्भ झनै चुलिने सम्भावना पनि उत्तिकै छ । अधिकांश चिकित्सकहरुले ठूलो चुनौती ठानेको दोस्रो प्रत्यारोपणमा जानु अघि त सिंगो पार्टी सचिवालयलाई चुनौती दिएका ओलीले अब उठेपछि के गर्लान भन्ने जिज्ञासा नेकपाभित्र र बाहिर उत्तिकै छ ।

म नै राज्य हुँ भन्ने फ्रान्सेली शासक लुई चौधौंको हाराहारीको सोचाईबाट गुज्रिएका ओलीले पार्टीका अरु नेताहरुलाई ठाडै ललकार्ने सम्भावना तीब्र बनेको छ । ओलीले अपरेसन कक्षमा जानु अघि सांसद पदावधि सकिए्रका युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरे तर पार्टी सचिवालय बैठकले सर्वसम्मत निर्णय गरेको वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णयलाई सुनेको नसुन्यै गरिदिए । यो भनेको चानचुनै चुनौती होइन पार्टीका अन्य नेताहरुलाई तिमीहरुको हुति के हो ?

म पनि हेरुँला भन्ने मानसिकता ओलीले प्रस्तुत गरेका हुन भन्दा अनुचित हुँदैन । अरु नेताहरु अहिले चुपचाप छन् । यसको अर्थ यो होइन कि उनीहरुले ओलीसँग घुँडा टेकिसके । जीवन मरणको दोसाधयुक्त अवस्थाको स्वास्थ्य उपचारका लागि तयारी गरिरहेको व्यक्तिमाथि अनावश्यक दबाब बढाएर तनाव दिएको आरोप लाग्ला भनेर नेकपा सचिवालयमा रहेका अन्य नेताहरुले मौनता साँधेको बुझिएको छ ।

ओली उठेर आएपछि उनीहरुले पार्टी निर्णय मान्ने वा राजनीतिक लडाई शुरु गर्ने ? भन्ने हिसाबले ओलीसँग निर्णय माग्ने छन् । वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णयबाट ओली पछाडि हट्ने अवस्थामा ओली विरुद्ध अविश्वासको प्रस्ताव अघि बढ्न सक्ने कुरालाई नकार्न नसकिने पूर्व माओवादी खेमाको भनाइ छ ।

भैंसेपाटी बैठकमा खासगरी माधवकुमार नेपाललाई अरु नेताहरुले चार पटक खारेको बताइन्छ । तपाईबाट धोका त हुँदैन नि भन्ने हिसाबमा नेपालको प्रतिबद्धता खोजिएको बुझिएको छ । नेपालले पनि कुनै हालतमा ब्याक हुन्न भनेका रहेछन् । तर, ओलीसँग भेटेपछि माधव पछि हटिसके भन्ने चर्चालाई पूर्व माओवादीहरुले विश्वास गरिहालेका छैनन् ।

किनकी ओलीले मृगौला प्रत्यारोपणको तिथी टुंगो लागिसकेको कुरा थाहा पाएपछि माधव नेपालले नै हालका लागि मानवीय पक्ष हेरेर दबाब नबढाउने सुझाव दिएको उच्च स्रोतको भनाई छ । ओली तंग्रिएर आउँदा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि अनेक दबाब परेको विश्वास गरिएको छ । पहिले आलोपालो प्रधानमन्त्री चलाउने सहमति गरेका ओलीले बीचमा धोका दिएर कार्यकारी अध्यक्षको ललिपपमा फसाएका प्रचण्डलाई अब ओलीले पार्टी अध्यक्ष बन्न दिनमा एक रत्ति विश्वास छैन ।

ओलीले आफू बाँचुन्जेल प्रचण्डलाई मात्रै होइन नेकपा भित्रका अरु कसैलाई पनि अध्यक्ष र प्रधानमन्त्री बन्न दिनेमा अब शंका बढेको पक्का हो । अर्थात् कसैले ओलीको अवसानमा आफ्नो उत्थान देखेको थियो भने अब त्यो दिवा सपना सावित हुने निश्चित छ ।

अबका केही वर्ष ओलीले सबैलाई पेलेर जाने रवैया देखाउने पक्का छ । त्यस्तो अवस्था आउन नदिन नेकपाको ओली ईतर पक्ष वा प्रचण्ड पक्षले चट्टानी एकता र अडान देखाउनु पर्ने छ, नेपालीपत्रमा उल्लेख छ ।भैंसेपाटी सहमतिबाट ओली ईतर पक्षका नेताहरु लाखापाखा लाग्ने अवस्था आएन भने एक डेढ महिना भित्रै ओली सत्तालाई चुनौती आउने बताइन्छ ।

अर्थात् ओली विरुद्ध अविश्वास प्रस्ताव आउन सक्ने छ । होइन, माधव नेपालहरुले फेरि पनि लोभीपापी चरित्र देखाए भने चाहीँ प्रचण्डले आफ्नो बाटो रोज्नुको विकल्प हुने छैन । जे होस नेकपा भित्र राजनीतिक वारपारको लडाई ओली उठेपछि सुरु हुने पक्का छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार १७:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।