Logo

राजनीति

राष्ट्रपति र प्रचण्डबीच लामो वार्तालापको राजनीतिक अर्थ



पार्टी सचिवालयमा बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग केही मतभेद रहेको विवरण सेलाउन नपाउँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग लामो वार्तालाप गरेको खबर बाहिरिएको छ ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपण गरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहेका बेला राष्ट्रपति कार्यालय शितलनिवासमा बुधबार दिउँसो एक घन्टा प्रचण्डले राष्ट्रपति भण्डारीसँग राजनीतिक विषयमा कुराकानी गरेको बताइएको छ ।

प्रधानमन्त्री ओली ठिक भएर फर्किएपछि पार्टीमा देखिएका अन्तरविरोधलगायतका विषयलाई हल गर्नका निम्ति उक्त भेट भएको हुनसक्ने अनुमान गरिए पनि खास विषयलाई सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्रीको स्वास्थ्योपचार जारी रहेका बेला अध्यक्ष प्रचण्डले कुनै खास सन्दर्भबिना नै राष्ट्रपतिसँग भेट्नुको परिप्रेक्षलाई नेकपाभित्रको मतभेदको हलको पहल हुनसक्ने बताइएको छ ।

उच्च स्रोतका अनुसार प्रचण्डको यस्तो भेटले कुनै न कुनै राजनीतिक अर्थ नै राख्दै आएको छ । ‘आफूलाई अप्ठ्यारो परेका बेला प्रचण्डले सहजीकरणका विविध उपाय खोज्छन् ति उपाय मध्य राष्ट्रपति भण्डारीको अनअफिसियल पहलले काम गर्छ भन्ने लागेको हुनसक्छ’, उच्च स्रोतले भन्यो,‘त्यसबाहेक प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा पनि परामर्श भएको हुनसक्छ । तर, खासचाहिँ राजनीतिक कारण हुनसक्छ ।’ राष्ट्रपति भण्डारीलाई भेटेर प्रचण्डले करिब एक घन्टासम्म कुराकानी गरेको विवरण सतहमा आएका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार १९:१८   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।