Logo

राजनीति

कार्यसमिति यथावत राख्न महामन्त्री कोइरालाको सभापति देउवालाई आग्रह



प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीको नवलपरासी (पश्चिम)को कार्यसमिति यथावत राख्न सभापति शेरबहादुर देउवालाई पत्रमार्फत आग्रह गरेका छन् ।

सभापति देउवाले नवलपरासी (पश्चिम)मा पार्टीको कार्यवाहक जिल्ला सभापति अर्जुन पोख्रेलको स्थानमा विष्णुप्रसाद पौडेललाई नयाँ सभापतिको जिम्मेवारी तोकेपछि महामन्त्री कोइरालाले असहमति जनाउँदै सो पत्र लेखेका हुन् ।

मुलुकको सङ्घीय संरचनाअनुसार नवलपरासी जिल्ला विभाजन हुँदा काँग्रेसले नवलपरासी ९पश्चिम० मा रिक्त रहेको जिल्ला सभापतिको जिम्मेवारी साविक नवलपरासी जिल्लाको कार्यसमितिका उपसभापति अर्जुन पोखरेललाई कार्यवाहकको जिम्मेवारी दिएको थियो । सभापति देउवाले यही फागुन २३ गते विधानबमोजिम भन्दै नवलपरासी (पश्चिम)को जिल्ला सभापतिमा विष्णुप्रसाद पौडेललाई जिम्मेवारी तोकेके थिए ।

महामन्त्री कोइरालाले भने पार्टीको १४औँ महाधिवेशनको तयारीका लागि सम्बन्धित तहको अधिवेशन र महाधिवेशन तोकिएको अवस्थामा पोख्रेललाई हटाई पौडेललाई जिम्मेवारी दिने कार्य विधान प्रतिकूल रहेको उल्लेख गरेका छन् । साथै उनले नवलपरासी (पश्चिम) जिल्ला विधानको व्यवस्थाबमोजिम पोख्रेल कार्यवाहक सभापति रहेको समितिलाई नै यथावत कायम राख्न अनुरोधसमेत गरेका छन् ।

साथै महामन्त्री कोइरालाले सहमति बिना विधानमा तोकिएबाहेकका विभाग बनाइनु, पार्टीमा केही साथीलाई केन्द्रीय सदस्य र आमन्त्रित सदस्य मनोनयन गरिनुले पार्टीभित्र एकताको वातावरण थप बिथोलिनेतर्फ पनि सभापतिको ध्यानाकर्षण गराएका छन् । नेतृत्वबाट एकाङ्कीरुपमा हुने यस्ता निर्णयले पार्टीको १४ औँ महाधिवेशनको निष्पक्षता र सुनिश्चितता गम्भीररुपमा प्रभावित हुने महामन्त्री कोइरालाले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार १८:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।